
काठमाण्डौं। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक आज दिउँसो बस्दैछ ।
बैठकमा दलका नेताहरुले आ–आफ्नो पार्टीका तर्फबाट सिट बाँडफाँडको मोडालिटी र आधार पेश गर्ने जनाइएको छ। ठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको आजको बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने तयारी गरेको छ ।
उसले १६५ सिटमा २० प्रतिशत हुँदा ३२ सिटमा दाबी गर्नेछ भने २५ प्रतिशत हुँदा ४२ सिटमा दाबी पेश गर्ने छ । सोही अनुसार उसले प्रदेशतर्फ पनि सिटको दावी गर्ने तयारी गरेको नेताहरुको भनाइ छ ।
‘हामीसँग अहिले २४ जना संघीय सांसद छन् । प्रदेशमा ६० जना छन् यो हिसाबमा ८४ सांसद हुन्छ । यसमा केही थप हुनुपर्छ, जबकी ९० देखि सय जना हाम्रा सांसद हुनुपर्छ’ नेकपा समाजवादीका एक पदाधिकारीले भने,‘गठबन्धन गरेपछि अहिलेको यो संख्या घट्ने अवस्थामा हामी सहमति गर्दैनौं’
उनले बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि सोही अनुसार प्रस्ताव लैजाने सहमति भएको बताए । तर कुन कुन क्षेत्रमा दाबी गर्ने भन्ने बारे भने तय भइनसकेको जनाइएको छ । नेकपा एसको यस किसिमको दाबीले गठबन्धनमा सिट बाँडफाड त्यति सहज होला जस्तो भने छैन् ।