एउटै चुनाव चिह्नमा चुनाव लड्न प्रचण्ड बाबुराम सहमत

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न सहमत भएका छन् ।

दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको थियो ।

नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका हुन् ।

यसबारे आ-आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले भने, ‘उहाँहरुको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरु (माओवादी) कै चुनाव चिह्नमा जाने सम्भावना छ ।’

माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ३ नेताबीच भएको भेटमा सत्तारुढ गठबन्धनमा नेसपाको सहभागिताबारे पनि छलफल भएको थियो ।