
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएको बताएका छन् ।

आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन मंगलबार दिउँसो निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् ।



उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताए । सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसद्मा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने बताएका छन् ।

नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको गौतमको भनाई छ । हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेको दाबी गरेका छन् ।
उनले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको गौतमको जिकिर छ । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी समेत गरेका छन् ।
निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरेका थिए । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताएका थिए ।
राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहेका गौतमले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको जानकारी दिएका छन् ।
मंगलबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेता गौतम र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिन्ह दिने सहमति गरेको थियो ।