एमालेको सरकार आएपछि नागरिकता विधेयक परिवर्तन गर्छ : महासचिव भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको सरकार आएपछि नागरिकता विधेयक सच्याउने बताएका छन् ।

प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा गरेको पत्रकार भेटघाटका क्रममा भट्टराईले वर्तमान सरकारले संसद्‌बाट बलपूर्वक पारित गरेको विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताएका हुन् । 

बिज्ञापन

राष्ट्रपतिले संसद्‌मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको भट्टराईको आरोप समेत छ । नागरिकताको सवाल ख्यालख्याल नभएको बताउँदै यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको भट्टराईले दाबी गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले समाजवादी धारको नेतृत्व गरेर जाने भट्टराईको भनाई छ । संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाइ गर्ने र पुँजीवादी नेतृत्व गर्दै आएको कांग्रेस बिस्तारै पतनको बाटोमा जाने बताए ।

वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको भन्दै भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने जिकिर गरेका छन् । आसन्न निर्वाचनमा एमालेले छेउ लागेका र निम्नवर्गका लागि लक्षित गरी घोषणापत्र ल्याउने तयारी गरेको भन्दै भदौभित्रै एमालेको घोषणापत्र आउने समेत भट्टराईले बताएका छन् ।