
काठमाण्डौं। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता पूर्ण कार्यान्वयनमा लाने निर्वाचन आयोगले तयारी गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार आयोगमा बोलाउने तयारी समेत गरेको छ ।

निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल र प्रतिवद्धता जनाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोगले छलफल गर्दैछ । आयोगका एक आयुक्तका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीलगायत अन्य पार्टीका नेतासँगको छलफलपछि आयोगले निर्णय गर्नेछ । सम्भवत आइतबार प्रधानमन्त्रीको समय मिल्यो भने सोही अनुसार अन्य दलका नेताहरुलाई पनि बोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर आचारसंहिता लागु भएको घोषणा गरिने छ ।’



निर्वाचनको मतदान गर्ने मिति अव ५८ दिन बाँकी छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको तर त्यो लागु हुन आयोगले निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘आयोगले अहिलेसम्म आचारसंहिता लागु हुने मिति घोषणा गरिसकेको छैन ।’

विगतमा निर्वाचन आचारसंहिता लागु हुनेबारे एकरुपता भएको पाइँदैन । ‘विगतमा कहिले एक महिनाअघि, कहिले दुई महिना अघि र कहिले निर्वाचन घोषणा भएकै मितिदेखि पनि लागु भएको उदाहरण छ’, प्रवक्ता पौडेलले भने । यसबारे परिस्थिति हेरेर निर्णय गर्ने गरिएको नजिर रहेको उनको भनाइ छ ।