घरजग्गाको कारोबार गर्दा किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट अनिवार्य

दमक / भूमि व्यवस्थापन तथा अभिलेख विभागले पत्राचार गर्दै अब घरजग्गाको कारोबार गर्दा किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै भूमि सुधार तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।

बिज्ञापन

पत्रमा भनिएको छ, ‘घर जग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्था (मालपोत) ले खरिदकर्ता बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने भएको छ।’ किन्ने र बेच्ने दुवै पक्षको बैंकमा ग्राहक पहिचान फारम पनि भरिएको हुनुपर्छ।

यसअघि कारोबारको क्रममा डिपोजिट भौचर तथा गुड फर पेमेन्ट राख्नुपर्ने व्यवस्था थियो। डिपोजिट भौचर राख्ने गरे पनि सोही अनुसार वास्तविक कारोबार नहुने गरेकोले यस्तो व्यवस्था गरिएको हो।

अहिले पनि १० लाखभन्दा बढी रकमको कारोबारहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मालपोत, बैंक, ब्रोकर कम्पनी, बीमा कम्पनी लगायतका सूचक संस्थाले अनिवार्य सूचना पठाउनुपर्ने व्यवस्था छ।

१० लाखभन्दा बढी रकमको कारोबारलाई सीमाभन्दा माथिको कारोबार मानिने व्यवस्था छ।