मेस्सीले बार्सिलोना छाड्ने पक्का

एजेन्सी । स्पेनीस ला लिगा फुटबल क्लब बार्सिलोनाका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी बार्सिलोनामा नरहने भएका छन् । बार्सिलोनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै कप्तान मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको जनाएको छ ।

खेलाडी र क्लब सम्झौता नजिक पुगेको भएपनि ला लिगाको नियमको कारण मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि मेस्सीले बार्सिलोनासँग सन् २०२६ सम्म सम्झौता थप्न सहमति जनाएको बताइएको थियो ।

बिज्ञापन

सर्वाधिक ६ पटकका बालोन डी‘ओर विजेता ३४ बर्षीय मेस्सी ३ साताअघि नै बार्सिलोनामा ५ वर्षे सम्झौता गर्न समहत भएको जनाइएको थियो । सन् २००४ यता बार्सिलोनाबाट खेल्दै आएका मेस्सीको सम्झौता ३० जुनबाट सकिएको थियो । सम्झौता सकिएको दुई सातापछि मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै बस्न सहमत भएको र ५० प्रतिशत तलब कटौती गर्न पनि उनी सहमत भएको जनाइएको थियो ।

तर बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । अब मेस्सी फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । उनले बार्सिलोनाबाट सर्वाधिक १० ला लिगा, ४ च्याम्पियन्स लिग र ७ कोपा डेल रेको जस्ता ठुला उपाधि जितेका छन् ।