आज फाल्गुनन्द जयन्ती राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

राष्ट्रिय विभूति, समाजसुधारक फाल्गुनन्द लिङ्देनको १३५औं जन्मजयन्ती किरात धर्मावलम्बीले विविध कार्यक्रम गरी मनाउँदैछन् ।

फाल्गुनन्दले २४ बैशाख १९८८ मा पाँचथरको फिदिम नगरपालिका–६, चोकमागुस्थित लब्रेकुटीमा तत्कालीन दश लिम्बू सत्र थुमका व्यक्तित्व भेला गराई किरात समाज सुधारका लागि सात बुँदे सत्यधर्म मुचुल्काको घोषणा गरेका थिए ।

बिज्ञापन

सो सत्यधर्म मुचुल्कालाई किरात समाज सुधारको क्षेत्रमा हालसम्मकै महत्वपूर्ण दस्तावेजको रुपमा लिने गरिन्छ । किरात धर्मावलम्बीहरुले फाल्गुनन्दलाई महागुरुको रुपमा सम्मान गर्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता तथा सांस्कृतिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सक्ने विश्वास व्यक्त गरिन् ।

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औँ जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्दै उनले भनिन्, ‘राष्ट्रिय गौरवका विभूतिको पवित्र जन्मजयन्तीको दिनमा हामी सबैमा धार्मिक सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् ।’

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दका जीवनसँग गाँसिएका महत्वपूर्ण ठाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए।

‘फाल्गुनन्दको जन्मभूमि चुक्चिनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्। पूर्वी नेपालको इलाममा जन्मेका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गरेको प्रधानमन्त्रीको भनाइ छ ।

‘त्यस बेलाको किरात समुदायको सामाजिक सुधार अभियानका लागि उनले वि.सं. १९८८ वैशाखमा जारी गरेका सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ’, प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, ‘सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्वशान्ति र मानव एकताका लागि दिनुभएको शिक्षा आज पनि मननीय छन्।’

छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालय स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको प्रधानमन्त्रीले बताएका छन् ।