
भद्रपुर । नेपाल–भारतको सीमा नाकामा गाईगोरु तस्कर र भारतीय एसएसबी बिच झडप भएको छ । झडपमा परी तीन जना भारतीय एसएसबीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भारतको सिलगुढीको एक अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको जनाइएको छ ।





नेपाल–भारतको सीमा नाका पर्ने झापाको कचनकवल गाउँपालिकास्थित घेरावारि नाकाबाट रातको समयमा तस्कर समूहले ठुलो सङ्ख्यामा गाईगोरु विहार राज्यस्थित किशनगञ्ज जिल्लाको सिंघमारी नाकाबाट भारत लैजान्छ ।
घेरावारिबाट सिंघमारी गाईगोरु लैजाने क्रममा शनिवार राती ८ बजे गाईगोरु तस्कर र भारतीय एसएसबी बिच झडप भएको हो । एसएसबी १९ बटालियन सिघीमारी बीओपी क्याम्प नजिकै उक्त घटना भएको एसएसबीको डिप्टी कमान्डर नवीन कुमार रायले जानकारी दिए । एसएसबीका अनुसार नेपालबाट ठुलो सङ्ख्यामा गाईगोरु आइरहेको सूचना पाएपछि तीन जना एसएसबीका जवान गाईगोरु नियन्त्रणका लागि गएका थिए ।
तीन जना एसएसबीले गाईगोरु नियन्त्रणमा लिएपछि घटनास्थलमा रहेका पाँच जना तस्करले उनीहरूमाथि खनिएका थिए । पाँच जनाले एसएसबीबाट गाईगोरु छुट्टाउन नसकेपछि उनीहरूले थप ३० देखि ४० जनाको समूहलाई घटनास्थलमा बोलाए । तस्करको समूहले तीन जना एसएसबीलाई उल्टै नियन्त्रणमा लिएर फलामको रड, लट्ठीसहित ढुंगामुढा गरी कुटपिट गरेका थिए । ‘तस्करको कुटपिटबाट एसएसबीका जवान मनिकन्दन, वसीम र जाफतको अवस्था ििचन्ताजनक छ,’ एसएसबीको डिप्टी कमान्डर रायले, ‘उनीहरूको सिलगुढीको अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ ।’ ‘तीन जवानमाथि कुटपिट भएपछि उनीहरूलाई बचाउन थप एसएसबी टोली घटनास्थल पुगेपछि तस्करहरू सबै भागे, राती भएकोले उनीहरूको पहिचान गर्न सकिएन,’ उनले भने । घटनास्थलबाट दुई वटा मोटरसाइकल बरामद भएको उनको भनाई छ । यता जियापोखर थाना अध्यक्ष शिवकुमार प्रसादका अनुसार बरामद गरिएका दुई वटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएको बताए ।
झापामा रोकिएन गाईगोरु तस्करी
झापाको दक्षिणी नाकाबाट गाईगोरु तस्करी गतिविधि अझै रोकिएको छैन । स्थानीय प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा ठुलो सङ्ख्यामा दिनहुँ गाईगोरु कचनकवल गाउँपालिकास्थित घेरावारि नाकाबाट भारत निकासी भइरहेको पाइएको छ । घेराबारीसहित कुमरखोद, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाकाबाट ठुलो सङ्ख्यामा गाईगाई भारत तस्करी भइरहेको छ । सशस्त्र प्रहरीले अहिलेसम्म गाईगोरु नियन्त्रणमा चासो देखाएको छ । गाईगोरु तस्करले सशस्त्र प्रहरीलाई मासिक रूपमा लाखौँ रकम बाँड्दै आइरहेकोले सशस्त्र प्रहरीले उनीहरूलाई नै संरक्षण गर्दै आइरहेको छ ।
प्रहरी कार्यालय झापाले भद्रपुर र काँकडभिट्टाबाट गाईगोरु बरामद गर्दै आइरहेको छ । प्रहरी कार्यालयबाटै खटिएका सादा पोशाकको टोलीले बेलाबेला दक्षिणी झापाको नाकाबाट पनि गाईगोरु बरामद गर्दै आइरहेको छ ।
गाईगोरु भारतहुँदै बङ्गलादेश तस्करी गर्ने झापा जिल्ला प्रमुख नाकामा पर्छ । भारतको उत्तर प्रदेशबाट सर्लाही जिल्लाका नाकाहरूबाट नेपाल भित्राइने गाई–गोरु त्यहाँबाट झापा जिल्ला ल्याइन्छ । झापाको दमक, घैलाडुब्बा, झापा बजार, राजगढमा भण्डार गरी त्यहाँबाट जिल्लाका विभिन्न नाका प्रयोग गरेर गाईगोरु भारत पठाइन्छ । प्रहरी कार्यालय झापाका तत्कालिन प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जिल्लाबाट हुने गाईगोरु तस्करी रोकथाम तथा नियन्त्रणमा आक्रमक बनेका थिए । प्रहरी उपरीक्षक मैनालीको सरुवा भएपछि प्रहरी कार्यालय झापाका आएका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले दुई महिनाको अवधिमा ५ सय भन्दा बढी गाईगोरु बरामद गरी भन्सार बुझाइसकेको छ । टाइम्स अफ प्रदेश बाट साभार