
ललितपुर – ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । काठमाण्डौ–तराई फास्ट ट्र्याकको जेरो प्वाइन्ट मानिएको खोकनाको खुदोल फाँटमा साङ्केतिक रुपमा धान रोप्न पुगेका किसानलाई प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेर हटाएको छ ।

गएकाे असार १५ गते पनि साङ्केतिक रोपाइँको लागि पुगेका किसानलाई प्रहरीले हटाएपछि आज काठमाण्डौका विभिन्न ठाउँबाट समेत किसानहरु विरोधको लागि खोकना पुगेका थिए ।



आज रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो, काेदालोसहित खुदोल फाँटमा पुगेका किसानले प्रहरीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको हाे ।

सरकारले खुदोल फाँटलाई फास्ट ट्र्याकको जेरो प्वाइन्ट घोषणा गरेकाेले जग्गाको मुआब्जा लिन आउन किसानलाई आग्रह गरेको छ तर किसानहरुले फाँटमा फास्ट ट्र्याक बनाउँदा खोकनाको सभ्यता विनाश गर्न हुने भन्दै विरोध गर्दै आएका छन् ।