
काठमाडौं : सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान आकर्षक मानिन्छ ।
पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेष गरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ ।
कोभिड-१९ संक्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान आज (शनिबार) देखि सुरु भएको हो । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एअरले बन्दाबन्दीको करिब ८ महिनापछि पर्वतीय उडान शुरु गरेको हो ।
कोभिड महामारीकाबीच बुद्धले पहिलो पटक पर्वतीय उडान सुरु गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि पर्वतीय उडान सञ्चालन गरिएको बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।
शनिबार पहिलो उडानमा १८ नेपाली यात्रु रहेका छन् । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहेपनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । यसअघि, बुद्धले अंग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान गरेको थियो ।
त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको थियो ।
आन्तरिक पर्यटलाई आकर्षण गर्ने गरी बुद्धले आकर्षक छुट तथा ‘अफर’सहित पर्वतीय उडान सञ्चालन गर्ने निर्देशक जोशीले बताए । उनका अनुसार हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिनेछ । पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निः शुल्कको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । अहिले अवस्था सामान्य हुन्थ्यो भने पर्वतीय उडानमा भिड लाग्ने थियो । तर, परिस्थिति प्रतिकूल छ । पर्वतीय उडानमा एअरलाइन्सबीच पनि प्रतिस्पर्धा नै चल्ने गरेको थियो ।
जहाज तथा हेलिकोप्टरलेसमेत पर्वतीय उडान गर्थे । पर्वतीय उडान काठमाडौंबाट आवत–जावत गरी एक घन्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भइ गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघ हिमालनजिक पुगेर पुनः काठमाडौंमा अवतरण हुन्छ ।
अग्ला हिमालसँगै महाभारत पर्वत शृंखलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । पर्वतीय उडानका लागि बन्दाबन्दी अघि नेपाली र भारतीयलाई ८ हजार ८२५ र अन्य मुलुकका नागरिकलाई १९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो । बुद्ध एअर, यती एअरलाइन्स र सिम्रिक एअरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् ।
वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकोप्टर कम्पनीसहित १९ ओटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।