
जनकपुर । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले मेलाको उद्घाटन गरेकी हुन् । तीन दिनसम्म चल्ने प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री महतोले उद्यमीहरुलाई सक्षम बनाउनका लागि आफु तम्तयार रहेको बताइन् । उनले महिलाहरुलाई आफ्नो सीपको प्रदर्शन गरेर एक सक्षम उद्यमीको रुपमा स्थापित हुनका लागि आग्रह गरिन् ।

मन्त्री महतोले समाजलाई समृद्ध बनाउनका लागि महिलाहरु समृद्ध तथा खुशी हुनु आवश्यक रहेको बताउदैँ महिलाहरुको सीप तथा कला प्रदर्शनीका लागि स्थानीय तहरुलाई समेत अलग्गै योजना ल्याउन आग्रह गरिन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा शुरु भएको प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ । मेलामा कुल ५० वटा स्टल राखिएको छ ।



