
भाद्र ५ एजेन्सी । फ्रेन्च लिग वान फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ । टोलीका सुपर स्टार खेलाडी लियोनल मेस्सी र नेयमारबिना मैदान उत्रिएको पिएसजीले शुक्रबार राति ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले १/१ गोल गरे । ब्रेस्टका फ्रान्क होनोराट र स्टिभ मौनीले गोल गरे । पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल व्यहोर्नुपरेको थियो ।
त्यस्तै पहिलो हाफको खेलको २३ औं मिनेटमा हेरेराले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा एमबाप्पेले गोल गरे । ७३ औं मिनेटमा इद्रिसाले गोल गरे । खेलको इन्जुरी समयमा डी मारियाले गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे ।
खेलको ४२ औं मिनेटमा फ्रान्क र ८५ औं मिनेटमा स्टिभले बेस्टका लागि गोल गरेका थिए । उक्त जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ । यता पराजित बेस्ट भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।