
काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग आज भेटी पछिल्लो समय आम पाठक/श्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह गरे । सङ्घका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील कर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा उनीसँग भेटवार्ता गरेको हो ।

सङ्घले आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटी विभिन्न माग प्रस्तुत गरेको छ । सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउनेबारे कतिपय नीति निर्देशिकाका कारण समस्या भइरहे पनि सक्दो पहल भइरहेको जानकारी दिए । मन्त्री गुरुङले यही फागुन २८ र २९ गते बुटवलमा हुने सङ्घको प्रथम महाधिवेशनका लागि सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।



