
काठमाडौँ : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन्। समूहको २५ औँ अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको महासचिवमा नवराज श्रेष्ठ चयन भएका छन् । बुधबार काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा एनएफपिजेको अधिवेशन भएको हो ।

समितिको रिक्त दुई केन्द्रीय सदस्य भने केन्द्रीय कमिटिले मनोनित गर्ने छ। राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिपोर्टर्स नेपालका मुकुन्द कालीकोटे चयन भएका छन्। त्यस्तै केन्द्रीय सदस्यमा नयाँपेजका प्रवीण कुलुङ राई, अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइनखबरका आर्यन धिमाल, थाहाखबरकी शिला तिमिल्सिना, नेवाः टाइम्सकी रमिता छुँजु र प्रभाव दैनिकका प्रदीपकुमार श्रेष्ठ चयन भएका छन् ।



कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६÷७७ बाट मनोरञ्जनतर्फ नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डङ्गोल, पर्यापर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा, संस्कृति सम्पदातर्फ शोभा मर्हजन र प्रदीप शाक्य तथा साहसिकतर्फ मुकुन्द कालीकोटे र पूर्णिमा श्रेष्ठलाई प्रदान गरिएको छ। उनीहरुलाई प्रमाणपत्र र चाँदीको तक्मा प्रदान गरिएको छ। पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाका नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटो पत्रकारिता पुरस्कार शिलापत्रका फोटो पत्रकार सुशीलकुमार श्रेष्ठलाई प्रदान गरिएको छ। श्रेष्ठलाई १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए भने काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष डिगम्बर राजवंशी, पूर्वअध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।