ईपीएलको उद्घाटनमा ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं – चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदैछ ।

उद्घाटन खेलमा गत संस्करणको विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स–११ प्रतिस्पर्धा गर्नेछन् ।

बिज्ञापन

यी दुई टोलीबीचको खेल दिउँसो १२ः१५ बजेदेखि सुरू हुनेछ । यो सिजनमा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर टिममा नयाँ कप्तान छन् । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले पाएका छन् ।

काठमाडौंले पनि नयाँ कप्तान पाएको छ । यसपालि काठमाडौं टिमको कप्तानी स्पिनर सन्दीप लामिछानेले गर्दैछन् । हालसम्म ईपीएलमा यी दुई टिमले एकअर्का विरुद्ध तीन म्याच खेलेका छन् । तिनै खेलमा ललितपुरले जितेको छ ।

असोज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख हात पार्ने छन् ।