
बाँके । बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाहको मूल गेटमा राजाको श्रीपेच र राजदण्ड अङ्कित चिह्न छ । नेपाल प्रवेश गर्ने मूल प्रवेशद्वारमै राजतन्त्रको झल्को दिने श्रीपेच र राजदण्ड रहेको रहेको उक्त गेट राजा महेन्द्रले निर्माण गरेका थिए। ‘जुन राष्ट्रको पृष्ठभूमि छ विश्वभरिको उच्च हिमाल, त्यस देशको गौरव राखौं हाम्रै हो यो देश नेपाल। महेन्द्र वीर विक्रम शाह’ लेखिएको सन्देश पनि उक्त गेटमा देखिन्छ ।

किनमेलका लागि भारतीय बजार रुपैडिहाबाट फर्किंदै गरेकी सीता रिजालले श्रीपेच र राजदण्डका विषयमा कतिपयले सोध्ने गरेको बताइन् ।श्रीपेच राजतन्त्रकालमा नेपालका राजाले प्रयोग गर्ने पारम्परिक पहिरन थियो। नेपाल एकीकरणपश्चात् राजतन्त्रको उदय भएसँगै राजाहरूले यसको प्रयोग गर्ने गरेका थिए भने राणा शासन कालमा श्री ३ प्रधानमन्त्रीहरूले समेत विशेष किसिमको श्रीपेच पहिरिने गरेका थिए। श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्कीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो।



श्रीपेचको अभिन्न भागका रूपमा रहेको बर्ड अफ प्याराडाइज दुर्लभ र मार्न प्रतिबन्धित संरक्षित चरा भएकाले पनि श्रीपेचको महत्व विशेष रहेको बताइन्छ। नेपालगन्जको मुख्य चोक धम्बोझीमा राखिएको राजा वीरेन्द्रको शालिक जिल्ला प्रशासनले झिकेर केही वर्षअघि राष्ट्रिय झण्डा राखेको थियो । शालिक राख्ने र हटाउने भन्ने विषयमा प्रहरी र केही युवाहरूबीच झडपसमेत भएको थियो । यसभन्दा पहिला गणतन्त्रवादीहरूले उक्त शालिकमाथि तोडमोड गरेका थिए। यति मात्र होइन राजाका नामबाट नामकरण गरिएका चोक र केही सडकको पुनः नामकरण गरियो। अन्य क्षेत्रमा रहेका शालिक भत्काइयो भने श्रीपेच र राजदण्ड अङ्कित चिह्नहरू मेटाइयो ।
