गौसालाबाट नेपाल प्रहरीका दुईजना नायव निरीक्षक (सई) घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गौसालाबाट दुई जना नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ।

 

बिज्ञापन

पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत सईद्वय रेशम पाण्डे र राजु स्वर्णकार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

 

उनले भने ‘गौसाला आसपासबाट १८ हजार घुससहित दुई प्रहरीका असईलाई बुधबार साँझ समातेका छौं, केबेरपछि सबै डिटेल सार्वजनिक गर्नेछौं। पक्राउ परेका उनीहरुमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ।

 

त्यस्तै सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका—१ घर भइ मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारीलाई बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

 

प्रहरीले भक्तपुर र काठमाडौंको सिमाना मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर फ्याँकेको अवस्थामा प्रहरीले बुधबार बिहानै उद्धार गरेको हो ।

 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मंगलबार राति खोलाको किनारामा मान्छेको आवाज सुनेर हेर्न जाँदा बोराभित्र बाँधेर फ्याँकिएको अवस्थामा भण्डारीको उद्धार गरिएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ ।

 

प्रहरीकाअनुसार प्रारम्भिक अनुसन्धानमा गत आइतबार भण्डारीलाई लोकन्थलीबाट तीनजना अपरिचित व्यक्तिले जबरर्जस्ती भ्यानमा हालेर तीन दिनसम्म विभिन्न ठाउँमा घुमाइ राति बाँधेर बोरामा हालेर फ्याँकेको पाइएको हो ।

 

कोटेश्वर प्रहरीले भण्डारीलाई अपराध अनुसन्धान महाशाखालाई बुझाएको र महाशाखाले घटनाको अनुसन्धान सुरु गर्दै उक्त घटनामा संलग्नको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

उता पोखरामा गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक मंगलबार पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

सो विद्यालयमा अध्ययनरत् १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षाकोठाभित्रै कुटपिट गरेर घाइते बनाएको आरोपमा अभिभावकको जाहेरी परेपछि ती शिक्षकलाई पक्राउ गरिएको हो । घाइते विद्यार्थी पोखरास्थित अस्पतालमा उपचारपछि घर फर्किसकेको बताइएको छ ।