
काठमाडौँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको चुनावमा सहभागी नहुने भएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। १३४ पदका लागि आज चुनाव हुँदैछ।

तर, लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका हुन् ।



कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको सर्वसम्मत उम्मेदबार बन्ने प्रयास असफल भएपछि निरास बनेका पौडेल सक्रिय राजनीतिबाटै विश्राम लिने मनस्थितिमा पुगेका छन्। पौडेल निकट स्रोतका अनुसार नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानमा पौडेल सहभागी हुने छैनन्।

कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्।