युएईसँग नेपाल २५ रनले पराजित

काठमाडौं — युएईविरुद्धको टी २० खेलमा नेपाल २५ रनले पराजित भएको छ ।

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ९२ रन बनाएको थियो ।

बिज्ञापन

जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ शेखले ११ र शरद शेषवाकले १० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको ओमानका लागि चिराग सुरीले ८५, रोहन मुस्तफाले ४९, मोहम्मद वासिमले २२, बासिल हामिदले १७ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछाने, साहब आलम र आरिफ शेखले एक–एक विकेट लिए ।

खेलाडी परिवर्तन 
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको थियो । लोकेश बम, स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिएको थियो । अभिनाश बोहरा, सागर ढकाल र प्रदीप ऐरी बेन्चमा रहेका थिए ।

लोकेशको डेब्यू
आजको खेलमा नेपालका युवा आक्रामण ब्याट्सम्यान लोकेश बमले डेब्यू गरे ।

केही साता अगाडि काठमाडौंमा भएको प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लवबाट खेलेका उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसका कारण उनी पहिलो पटक सिनियर टिममा स्थान बनाएका थिए । पीएम कपमा लोकेशले आर्मीविरुद्ध विस्फोटक पारी खेलेका थिए । जसमा उनले १८ बलमा ६६ रन बनाएका थिए ।

सिरिजको अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।

ग्लोबल छनोट र तालिका 
सिरिजपछि नेपालले फेब्रुअरी १८ देखि २४ तारिख विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।

टि–२० विश्वकप छनोट तालिका
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान
फागुन ७ (१९ फेब्रुअरी) – नेपालविरुद्ध फिलिपिन्स
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा

फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)

फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)

फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)