म्याग्दीकाे तातोपानी कुण्ड आजदेखि खुला
म्याग्दी । गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)ले जनाएको छ।

बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

बिज्ञापन

कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए। अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिक रूपमा तातोपानीमा स्नान गर्न आउँछन् ।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने बिरेनुन स्वादको तातोपानी आउने गरेको छ। जमिनभित्रबाट बिरेनुनको गन्धसहित निस्कने तातोपानीमा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्ट्रिक तथा अन्य बाह्य रोग निको हुने भएकाले बर्सेनि नुहाउनका लागि बिरामी आउने गर्दछन् । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै हुने गर्दछ।

डीसीएमसी बैठकले कोरोनाको जोखिम कायमै रहे पनि लामो समयसम्म बन्दलाई निरन्तरताभन्दा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालनासहित खुला गर्ने निर्णय भएको संयोजक एवं प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।

 जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुस्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुनसमेत अपिल गरिएको छ। त्यस्तै समूहमा खेलिने खेलमा भने क्षमताको २५ प्रतिशतमात्रै उपस्थितिमा सञ्चालन गर्न पाइने भएको छ।