युक्रनी राष्ट्रपतिले क्यानडा र अमेरिकाको संसद्लाई सम्बोधन गर्ने

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडा र अमेरिकी सदनलाई सम्बोधन गर्ने भएका छन् । उनले मंगलबार क्यानडाको सदन र बुधबार अमेरिकी सिनेट तथा हाउस अफ रिप्रिजेन्टेटिभ्समा भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको सिएनएनले जनाएको छ । उनले क्यानडाको स्थानीय समयअनुसार बिहान साढे १० बजे सम्बोधन गर्ने तालिका छ।

उनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा सम्बोधन गर्न आमन्त्रण गरेका थिए। प्रधानमन्त्री ट्रुडोले सम्बोधन गरेपछि जेलेन्स्कीले सम्बोधन गर्नेछन् । युक्रेनमा रूसले गरेको आक्रमणबारे जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधनका लागि निम्त्याइएको हो ।

बिज्ञापन

अमेरिकी सदनमा पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको हुँदा सबै संसदलाई बुधबारको सदनमा उपस्थित हुन सभामुख न्यान्सी पेलोसीले आग्रह गरेकी छन्। पेलोसीले सबैलाई पत्र पठाएर आमन्त्रण गरेकी हुन् ।
जेलेन्स्की त्यसरी सम्बोधन गर्नु युक्रेनी जनताको लागि सम्मान र प्रशंसाको कुरा भएको उक्त पत्रमा उल्लेख छ । गत सातामात्रै अमेरिकी कंग्रेसले युक्रेनलाई १३ अर्ब ६० करोड डलरको आपतकालिन प्याकेज दिन स्वीकृती दिएको थियो । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी समेत गरेका छन् ।

त्यसक्रममा जेलेन्स्कीले बाइडेनलाई रूसमाथि लगाएको प्रतिबन्धलाई अझ कडा बनाउन आग्रह गरेका थिए । अन्तर्राष्ट्रिय जलमार्गहरूबाट पनि रूसको पहुँच बन्द गराउन पनि जेलेन्स्कीले बाइडेनलाई आग्रह गरेको सिएनएनले जनाएको छ । पेलोसीले पठाएको पत्रमा कंग्रेसले युक्रेनलाई गरेको समर्थनमा अमेरिका प्रतिबद्ध रहेको उल्लेख छ।