
काठमाडौं, वैशाख १० । जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा ४ बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।



“आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउनेबित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँसहितको टोलिले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्ण रूपले क्षति भएको उनले बताए ।

आगलागीका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले जनाए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।