
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन्।ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा उनले अध्यक्ष दाहालसँग काठमाडौं महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरे।भेटमा प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहोर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराए।

अध्यक्ष प्रचण्डले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरे।शाहको सचिवालयका अनुसार काठमाडौंमा उहाँको विजय नै आम नेपालीको विजय भएको उल्लेख गर्दै कुनै एउटा पार्टीगतभन्दा पनि मतदाताको सम्मानका लागि विकासका काम गर्न अध्यक्ष प्रचण्डले शुभकामना दिए। प्रचण्डले धरान, काठमाडौंलगायतमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले मुलुकमा नयाँ क्रान्तिको शुरुवात भएको बताए।



भेटपछि प्रमुख शाहले प्रचण्डसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेण्डा बोक्न सक्ने र दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको जानकारी दिए।महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा उनले आज अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन्।यसअघि प्रमुख शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्।
