महोत्तरीमा एमालेको उम्मेदवार छनोट प्रक्रिया तीव्र

महोत्तरी । नेकपा एमालेको उम्मेदवार छनोट गर्ने समयसीमा नजिकिँदै गर्दा महोत्तरीमा दौडधुप निक्कै बाक्लिएको छ। उम्मेदवार छनोट गर्ने चटारोले ५ र ६ असोजमा निर्धारण गरिएको जिल्ला अधिवेशनसमेत ओझेलमा परेको छ।

उम्मेदवार छनोटको समयसीमा ४ दिन मात्र बाँकी रहँदा आकाङ्क्षीहरूको सङ्ख्या निक्कै बढेको छ। टिकटका आकाङ्क्षीहरूलाई मिलाउन जिल्ला इन्चार्ज सरोज यादव व्यस्त देखिएका छन् भने केन्द्रीय नेताहरू त्यसलाई कसरी सहजीकरण गर्ने भन्नेतर्फ केन्द्रित छन्। नेकपा एमाले महोत्तरी अन्य जिल्लाको तुलनामा निक्कै विवाद सिर्जना हुने जिल्लामा पर्दछ।

यसैको परिणामस्वरूप देशैभरि अधिवेशन सकिसक्दा पनि महोत्तरीमा भने जिल्ला अधिवेशन नै हुन सकेको छैन। उम्मेदवार छनोटको चुनौतीले ५ र ६ असोजलाई निर्धारण गरिएको अधिवेशन स्थगित हुने अवस्थामा पुगेको हो। ‘अब जिल्ला अधिवेशन गर्न नसकिने भयो’, जिल्ला इन्चार्ज सरोज यादवले भने, ‘उम्मेदवार टुङ्ग्याउने क्रममा कुनै विवाद आउन हँुदैन भन्ने हाम्रो मान्यता छ।’

इन्चार्ज यादव १९ गते प्रदेश र प्रतिनिधिसभाका आकाङ्क्षीहरू जति नै भए तापीन सर्वसम्मतमा नै टुङ्गिने दाबी गर्छन् । तर उनले भनेजस्तो सजिलो अवस्था भने छैन । जिल्लाका चारै क्षेत्रका नेताहरू टिकटको दाउपेचमा आफ्नै गृहकार्यमा लागिरहेका हुनाले पहिलो चरणमा उम्मेदवार टुङ्ग्याउन निक्कै सकस बन्ने एमालेभित्रैका नेताहरूको बुझाइ छ ।

जिल्लाको विशेष गरी क्षेत्र न.१ मा उम्मेदवार चयन गर्न कठिन रहेको नेताहरू बताउँछन्। क्षेत्र न.१ ‘क’बाट प्रदेशसभा सदस्यमा अहिलेकी प्रदेशसभा सदस्य शारदादेवी थापादेखि बर्दिबास नगरपालिकाको उपप्रमुखमा पराजित नेत्री दुर्गा खड्का बलियो दाबेदारका रूपमा प्रस्तुत भएका छन्।

त्यसो त पुराना नेता चन्द्रबहादुर क्यापछाकीको पनि निक्कै चर्चा छ । स्थानीय तह निर्वाचनमा समेत केन्द्रबाट उनकै नाममा आएको टिकट अर्का नेता टेकबहादुर बलाम्पाकीले खोसेको आरोप लागेको थियो । सोही समयदेखि सहानुभूति बटुलेका नेता क्यापछाकीसमेत प्रदेशसभाका लागि बलियो दाबेदार देखिएका छन् । टिकटको विषयमा पनि क्यापछाकीलाई सोही समयदेखि आश्वासन दिएको नेताहरू बताउँछन्।

‘यदि पार्टीले सही मूल्याङ्कन गर्ने हो भने चन्द्रबहादुरलाई नै टिकट दिनुपर्छ’, एमालेका एक नेताले नाम नखुलाउने सर्तमा भने । महोत्तरीमा नेकपा एमालेको बलियो सङ्गठन भए तापनि आन्तरिक विवाद र नेताहरूको नेतृत्व लिने दाउपेचले चरम गुटबन्दी सुरु भएको छ। अगाडि नेकपा एमाले हौँ भन्ने तर निर्वाचनमा प्रतिबद्ध बन्न नसक्ने नेताहरूको चरित्रले पार्टी कमजोर भएको युवा नेताहरूको ठहर छ।

युवा नेता निलबहादुर लुम्रे कतिपय पालिकामा त नेकपा एमाले नै नभएको व्यङ्ग्यात्मक टिपणी गर्छन्। बर्दिवास नगरपालिकामा स्थानीय तह निर्वाचनमा देखिएको चरम अन्तर्घातले पार्टी कमजोर कसरी भएको रहेछ भन्ने आम मानिसले महसुस गर्न पाए। यसैलाई लक्षित गर्दै नेता लुम्रे आफ्नो स्टाटसमा लेख्छन्, ‘नेकपा एमालेको साङ्ठनिक अस्तित्व समाप्त उन्मुख छ ।’

पार्टीभित्र अन्तर्घात मौलाएको बताउँदै उनले पार्टी नेतृत्वमा पार्टी जिताउनुमा भन्दा विपक्षी पार्टीलाई विजय गराउनुमा गर्व गर्ने संस्कारको विकास भएको हुनाले नेतृत्वप्रति मतदाताहरूको वितृष्णा जागेको बताए। यसरी हेर्दा आगामी सङ्घ र प्रदेशको निर्वाचनमा पनि पार्टीप्रति प्रतिबद्ध एमालेका नेता, कार्यकर्ता निर्वाचन जित्नेमा अझै सशङ्कित छन्।

पुराना नेताहरू पनि पार्टीमा भइइरहेका अन्तर्घात र गुटबन्दीका कारण दिक्क बनेका छन्।पुराना नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य रामदयाम मण्डल महोत्तरीमा नेताहरू विधि र प्रक्रियाबाट बाहिर रहेको बताउँछन् ।