महिला साफ आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौं । दशरथ रङ्गशालामा मङ्गलबार सुरु हुने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन्। सोमबारको प्रि–म्याच कन्फ्रेन्समा सबै टोलीले आफ्नो तयारी र लक्ष्यबारे कुराकानी गरेका थिए।

२१ भदौदेखि ३ असोजसम्म हुने च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्नेछ। यो खेल मङ्गलबार साँझ ५ बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ।

बिज्ञापन

विश्व फुटबल महासङ्घ –फिफा)ले पाकिस्तानमाथि झण्डै ५ वर्ष र भारतमाथि २ साताको निलम्बन फिर्ता लिएपछि यस पटक संस्करणमा दक्षिण एसियाका ७ वटै टोलीको सहभागिता निश्चित भएको हो। यो नेपालले लगातार दोस्रो पटक महिला साफ च्याम्पियनसिपको आयोजना हो। च्याम्पियनसिपको पाँचौँ संस्करण सन् २०१९ मा विराटनगरमा भएको थियो।

यस पटक नेपाललाई घरेलु मैदान र दर्शकअघि उपाधि जित्दै अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि खडेरी तोड्ने अवसर छ। विगतमा जस्तै यस पटक पनि भारत र नेपाल उपाधिको मुख्य दाबेदारको रूपमा छन्। भारतले यसअघिका पाँचै संस्करणको उपाधि जितेको छ।

नेपाल ४ पटक उपविजेता बन्दा १ पटक सेमिफाइनलबाट बाहिरिएको थियो। पाँचै पटक भारतसँगै पराजित भएको थियो। यस्तै, बंगलादेश १ पटक फाइनल पुगेको थियो। दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा नेपालको प्रशिक्षण सम्हालेका कुमार थापाले ३ नयाँ खेलाडीसहित नेपाली टोली घोषणा गरेका छन् ।

सावित्रा भण्डारी चोटपछि पुनरागमन गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छन्। नेपाली टिममा समीक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले पहिलो पटक स्थान बनाएका छन्। नेपालले तेस्रो पटक घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्दै छ।

सन् २०१९ मा मार्चमा भएको साफ च्याम्पियनसिप र २०१९ डिसेम्बरमा भएको १३औँ साग फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो। प्रशिक्षक थापाले आफ्नो टोलीको लक्ष्य उपाधि भएको बताइसकेका छन्।

भारतले अहिलेसम्म ५ संस्करणमा २३ खेल खेल्दा २२ खेल जितेको छ । १ खेल बराबरी खेलेको थियो । यस्तै, १३८ गोल गर्दा जम्मा ६ गोल मात्र बेहोरेको छ। नेपालले पनि २३ खेल नै खेलेको छ । १८ खेल जितेको नेपालले ५ मा पराजयको सामना गरेको छ । नेपालले १०२ गोल गरेको छ भने १७ गोल बेहोरेको छ।

भुटानले अहिलेसम्म ५ संस्करणमा १४ खेल खेल्दा कुनै पनि खेल जित्न सकेको छैन। १३ खेल हारेको छ र १ खेल बराबरी गरेको छ। भुटानले जम्मा ३ गोल गर्दा ७७ गोल खाएको छ। बंगलादेशको कक्स बजारमा १२ देखि २४ डिसेम्बर २०१० मा भएको पहिलो संस्करणमा ८ राष्ट्रले सहभागिता जनाएका थिए।

फाइनलमा भारतले नेपाललाई १–० ले हराएर पहिलो उपाधि जितेको हो। नेपालले फाइनल अघि कुनै गोल बेहोरेको थिएन । भारतलाई च्याम्पियन बनाउन सस्मिता मल्लिकले ६५औँ मिनेटमा गोल गरेकी थिइन्।

पहिलो संस्करणमा भारतकी बाला देवी र सस्मिता मल्लिकले सर्वाधिक ११ गोल गरे । यस्तै, बाला देवी उत्कृष्ट खेलाडी बनिन् । श्रीलंकाको कोलोम्बोस्थित सीआर एण्ड एफसी ग्राउण्डमा ७ देखि १६ सेप्टेम्बर २०१२ मा सञ्चालित दोस्रो संस्करणमा पनि ८ वटै राष्ट्रले सहभागिता जनाएका थिए ।

फाइनलमा भारत ३–१ ले विजयी भयो । सो खेलमा नेपालले दीपा अधिकारीको गोलमा अग्रता लिएको नेपालको विरुद्धमा सुप्रिया राउट्रे, बेमबेम देवी र कमला देवीले गोल गरेका थिए । च्याम्पियनसिपमा नेपालकी जमुना गुरुङ ८ गोल गर्दै सर्वाधिक गोलकर्ता भएकी थिइन् । भारतकी युमनाम कमला देवी उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । भारतले च्याम्पियनसिपमा कुल ३३ गोल गर्दा १ गोल खायो । नेपालले कुल २४ गोल गर्दा ४ गोल बेहोरेको थियो ।

च्याम्पियनसिपको तेस्रो संस्करण ११ देखि २१ नोभेम्बर २०१४ मा पाकिस्तानको इस्लामाबादस्थित जिन्नाह स्पोर्ट्स स्टेडियममा आयोजना भएको थियो। भारत लगातार तेस्रो पटक च्याम्पियन बन्यो भने नेपाल लगातार तेस्रो पटक उपविजेता बन्यो । फाइनलसम्म पुग्दा नेपालले १४ गोल गर्दा कुनै गोल खाएको थिएन। भारतले भने कुल ३० गोल गर्दा १ गोल खाएको थियो।

फाइनलमा भारतले नेपाललाई ६–० ले पराजित गरेको हो । भारतकी बाला देवीले सर्वाधिक १६ गोल गरिन् भने बंगलादेशकी सविना खातुन उत्कृष्ट खेलाडी बनिन्।
२६ डिसेम्बर २०१६ देखि ४ जनवरी २०१७ सम्म भारतको सिलिगुडीमा भएको च्याम्पियनसिपको चौथो संस्करणमा ७ टिमले सहभागिता जनाएका थि। पाकिस्तान यस पटक सहभागी थिएन।

भारत लगातार चौथो पटक च्याम्पियन बन्दा नेपाल पहिलो पटक फाइनल पुग्न असफल भएको थियो। नेपाल सेमिफाइनलमै भारतसँग पराजित भयो भने बंगलादेश पहिलो पटक फाइनल पुग्यो । बंगलादेशले भारतलाई फाइनलमा बराबरीमा समेत रोकेको थियो।

च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको हो । भारतका लागि कमलादेवी, इन्दुमथि काथिसेरन र सस्मिता मल्लिकले गोल गरिन् भने नेपालका लागि सावित्रा भण्डारीले १ गोल फर्काइन् ।

च्याम्पियनसिपमा नेपालकी सावित्रा भण्डारीले सर्वाधिक १२ गोल गरिन्। भारतकी इन्दुमति उत्कृष्ट खेलाडी घोषित भइन् । पाँचौँ संस्करण १२ देखि २२ मार्च २०१९ सम्म आयोजना भएको हो । सो सस्ंकणमा ६ टोली मात्र सहभागी भए। फाइनलमा नेपाललाई ३–१ ले हराएर नेपालले उपाधि जितेको हो । सो खेलमा भारतका लागि डालिमा छिब्बर, डाङ्माई ग्रेस र अन्जु तामाङले गोल गरेका थिए भने नेपालकी सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।

च्याम्पियनसिपमा कुल १८ गोल गरेको भारतले फाइनलमा मात्र १ गोल खाएको थियो। नेपालले भने ११ गोल गर्दा ३ गोल खाएको थियो। च्याम्पियनसिपमा भारतकी इन्दुमथि काथिरेसन र नेपालकी सावित्राले समान ४ गोल गरे । भारतकी डाङ्माई ग्रेस उत्कृष्ट खेलाडी घोषित भइन् ।