
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन्। ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार शुभभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन्।
संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ। यस वर्ष यो दिवस ‘साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण’ भन्ने नाराका साथ मनाउन लागिएको छ। साक्षर नेपाल अभियानलाई प्रभावकारी तवरले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताएका छन्।
प्रधानमन्त्री देउवाले सरकार निजी क्षेत्र, सामाजिक संघ संस्थाको विभिन्न प्रयासको बाबजुद अझै एक तिहाइ जनता निरक्षर अवस्थामा रहनुले आगामी दिनमा साक्षरता अभियानलाई अझै प्रभावकारीरूपमा निरन्तर अघि बढाउनुपर्ने खाँचो रहेको औँल्याए। ‘शिक्षा गुणस्तरीय जीवनको आधारशीला हो।
शिक्षाको बहुआयामिक महत्त्वलाई आत्मसात् गर्दै हाम्रो संविधानले शिक्षालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र भौतिक पूर्वाधारको विकासको आधारशिलाको रूपमा लिइने शिक्षालाई विश्वभर मानव जीवनका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यमको रूपमा स्वीकार गरिएको छ’,प्रधानमन्त्री देउवाले भनेका छन्।
शिक्षालाई आम जनताको पहुँचमा पुर्याउन सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी तवरले अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले गुणस्तरीय, जीवनोपयोगी, व्यावसायिक र प्राविधिक शिक्षाको प्रवर्द्धन गर्दै देशको समग्र विकासका लागि आवश्यक जनशक्ति मुलुकभित्रै उत्पादन गर्न जोड दिनुपर्ने स्थिति रहेको उल्लेख गरेका छन्।