प्रत्यक्षतर्फको मनोनयन दर्ता असोज २३ गते, निर्वाचन कार्यक्रम पनि स्वीकृत

काठमाडौं। निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता असोज २३ गते बिहान १० बजेदेखि पाँच बजेसम्म हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोग पदाधिकारीको बिहीवार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

स्वीकृत कार्यक्रम बमोजिम प्रत्यक्षतर्फको गतिविधि असोज २३ गते सुरु भई मंसिर ४ गते मतदानसँगै टुङ्गिनेछ । आयोगले असोज २३ गते मनोनयन दर्ता भएको उम्मेदवारको सूची साँझ सात बजेभित्र प्रकाशन गर्नेछ ।

बिज्ञापन

असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २५ गते मनोनयन पत्र र उजुुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र असोज २५ गते नै उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

आयोगका अनुसार २६ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ । स्वीकृत कार्यक्रम अनुसार मङ्सिर ४ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ ।