जेलमा कैदीबीच पाँच घन्टासम्म भिडन्त, ५२ को मृत्यु

एजेन्सी ।  ब्राजिलको पारा राज्यको एक जेलमा दुई विरोधी टिमबीच भएको भिडन्तमा ५२ जना कैदीको मृत्यु भएको छ ।

 

बिज्ञापन

अधिकारीहरुका अनुसार अल्टामिरा जेलमा करिब पाँचघन्टासम्म ‘ग्याङवार’ चलेको थियो । जेलको एउटा भागमा कैद गरेका कैदी अर्को भागमा पुगेपछि संघर्ष सुरु भएको थियो ।

 

मारिएकामध्ये १६ जनाको टाउको काटिएको छ । भिडन्तका क्रममा जेलको एउटा भागमा आगो लगाइदिएपछि धुवाँका कारण निकासिएर समेत केहीको मृत्यु भएको बताइएको छ ।

 

कैदीले जेलका दुई अधिकारीलाई समेत बन्धक बनाएका थिए । उनीहरुलाई पछि छाडिएको छ । अधिकारीहरुले जेलमा मारिएका दुवै समूहको नाम भने अहिलेसम्म दिएको छैन ।

 

अल्टामीरा जेलमा २ सय जना कैदी राख्ने क्षमता भएपनि ३ सय ११ जना कैदीलाई राखिएको थियो । ब्राजिलका जेलमा भिडन्त हुनु सामान्य मानिन्छ ।

 

ब्राजिलका जेलमा ७ लाख मानिस कैदीका रुपमा जीवन बिताइरहेका छन् । गत मेमा एकै दिन अलग अलग चार जेलमा भिडन्त हुँदा ४० जनाको मृत्यु भएको थियो ।