एमालेसँग तालमेल गर्न चाहन्छन् कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गृह जिल्लामा चुनावी अभियान सुरु गरेका छन् । ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर– १ का लागि उम्मेदवारी दिने तयारी स्वरूप थापाले गृहक्षेत्रमा चुनावी अभियान सुरु गरेका हुन् ।

राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपश्चात राप्रपासँगै राजसंस्था पुनस्र्थापनाको एजेण्डा त्यागेर राप्रपा नेपाल ब्युँताएका थापा हिन्दु राज्यको पुनस्र्थापनाको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिँदै छन्। पछिल्ला निर्वाचनहरूमा निर्वाचनको केही साताअघि मात्र आएर चुनावी अभियानमा हिँड्ने गरेका थापा यस पटक भने २ महिनाअघिदेखि आफैँ चुनावी अभियानमा सक्रिय देखिएका छन् ।

बिज्ञापन

केही साताअघिदेखि थापा आफ्नो क्षेत्रका विभिन्न गाउँहरू गएर भेटघाट कार्यक्रममा व्यस्त छन् भने जिल्लाको पार्टीको काममा पनि तादरुकताका साथ अघि खटिएका देखिएका छन् । साथै, थापा आफ्नो क्षेत्रका मतदाता रिझाउनदेखि आफूदेखि रुष्ट भएर अन्य पार्टी प्रवेश गरेका पुरना आफ्ना सहकर्मी नेता, कार्यकर्ताहरूलाई फकाउन पनि आफैँ खटिएका छन् ।

जिल्लामा राप्रपाका पुराना नेता तथा कार्यकर्ताहरूलाई राप्रपा नेपालमा स्वागतसमेत गरिरहेका छन् ।

एमालेसँग तालमेल गर्न चाहन्छन् थापा

२०७२ सालमा संविधान जारी भएपश्चात् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन सत्तारूढ नेपाली कांग्रेससँगको चुनावी तालमेलबाट निर्वाचनमा प्रत्यक्षतर्फ उठेका थापा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए।

एमाले र नेकपा (माओवादी केन्द्र)को चुनावी तालमेलबाट उठेका एमालेका उम्मेदवार दाहालसँग थापा ५ हजार ९७३ मतान्तरले पराजित बनेका थिए। एमालेका दाहालले ४० हजार ६३१ मत ल्याउँदा राप्रपाका थापाले ३४ हजार ६५८ मत मात्र ल्याउन सकेका थिए।

थापाले तत्कालीन चुनावमा कांग्रेसले धोका दिएका कारण आफूले जित्न नसकेको आरोप लगाउँदै आएका छन् । दाहाल र थापा ४ पटक सँगै चुनावी मैदानमा उत्रिसकेका छन्, जसमा दाहालले ३ पटक जित हासिल गर्दा थापाले १ पटक मात्र जित हासिल गर्न सकेका छन् ।

दाहालले नै थापालाई २०४८, २०५६ र २०७४ सालमा भएका निर्वाचनमा पराजित गर्दा थापाले दाहाललाई २०५१ सालको निर्वाचनमा मात्र पराजित गरेका थिए। तर, दाहालले एक पटक पनि मन्त्री बन्ने अवसर पाउन सकेनन्। उनै दाहालसँग पराजित भएका थापाले भने समानुपातिकबाट सांसद बन्दै ३ पटक उपप्रधानमन्त्रीसहित ९ पटक मन्त्री बन्ने अवसर प्राप्त गरे।

बहुदल आएदेखि पटकपटक सरकारमा सत्ता साझेदारी गरेका थापा २०७४ सालको चुनावपछि भने सत्ताबाहिर छन् । ५ वर्षदेखि सत्ताबाहिर रहेका थापा यस पटक एमालेसँग चुनावी तालमेल गरेर गृह जिल्लामा आफ्नो जित सुनश्चित गर्न चाहन्छन् ।

एमालेलाई देशभक्त र राष्ट्रवादी पार्टी भएको बताउँदै आएका थापाले आगामी चुनावमा विदेशी चलखेलबाट बनेको ५ दलीय गठबन्धनविरुद्ध राष्ट्रवादी पार्टीहरूबीच चुनावी तालमेल हुनुपर्ने बताउँदै आएका छन्। २५ भदौमा हेटौँडामा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशमा विदेश शक्तिको चलखेल बढिरहेको र राष्ट्रियतामाथि खतराको घन्टी बजिरहेको भन्दै राष्ट्रियतालाई ज्युँदो राख्ने काममा अग्रसर रहन विशेषगरी केपी ओली र एमालेसहित सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई आग्रह नै गरेका थिए।

थापाले तत्कालीन केपी ओली सरकारले लिम्पियाधुरासहितको चुच्चे नक्सा ल्याएकै कारण रुष्ट भएको विदेशी शक्तिले विचार नमिल्ने पार्टीहरूलाई सत्ताको मोह देखाएर एक ठाउँमा राखेर एमाले सरकार ढालेको आरोप लगाउँदै राष्ट्रवादी पार्टीहरूबीच चुनावी तालमेल गर्नुपर्ने बताएका थिए।
यता, यस पटकको निर्वाचनमा थापाले एमालेको साथ पाउनेमा थापा ढुक्क रहेका उनी निकट उच्च स्रोतको दाबी छ।

‘अध्यक्षज्यूलाई केपी ओलीले साथ दिने बचन दिनुभएको पार्टीभित्र चर्चा सुनिएको छ । यस पटक एमालेको साथबाट हाम्रो अध्यक्षको जित पक्का छ’, उनले भने, ‘हामीलाई आएको जानकारीअनुसार अध्यक्षज्यू पार्टीकै चुनाव चिह्न तीरबाट चुनाव लड्नुहुन्छ । चुनाव चिह्नकै कारणले तालमेल हुन सकेन भने एमालेको चुनाव चिह्न सूर्यबाटै भए पनि चुनाव लड्नुहुन्छ ।’

यद्यपि, एमाले र राप्रपा नेपालबीच जिल्लामा कुनै पनि तालमेलको बहस नभएको दुवै पार्टीका जिल्ला नेताहरूको भनाइ छ। थापाले यस पटकको चुनाव आफ्नो राजनीतिक जीवनको अन्तिम चुनाव हुने बताइसकेका छन् ।

थापाले पछिल्लो पटक सरकारमा रहँदा प्रदेशको राजधानी हेटौँडा ल्याउन सफल भएको र धेरै कामहरू गर्न सकिएको बताउँदै आएका छन्। उनले आफ्नो राजनीतिक जीवनको अन्तिम चुनावमा जित हासिल गरेर जिल्लाका लागि बाँकी काम गरेर विश्राम लिने बताएका छन्।