
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा सञ्चालनमा अन्योल थपिएको छ ।
२०७७ सालको एसईई सञ्चालन हुन अब मात्रै ३ साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् ।
शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् । शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ । गत बर्ष २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो । सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन ।