समानुपातिक उम्मेदवार सूची बदल्न बालुवाटारमा कांग्रेस नेताहरुको छलफल

काठमाडौं । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूची संशोधनबारे नेपाली कांग्रेस छलफलमा जुटेको छ। प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएर समानुपातिकतर्फको बन्दसूची संशोधनका लागि छलफल थालेका हुन्। आयोगले कांग्रेसलाई लागि समानुपातिक सूची सच्याउने समय शुक्रबारसम्म दिएको छ।

सूची सच्याउनका देउवाले तीन दिनदेखि निरन्तर बैठक राख्दै आएका छन्। पार्टीभित्रकै शेखर कोइराला समूहले दबाब बढाएपछि देउवाले सूची सच्याउन आफू तयार रहेको बताउँदै आएका छन्।

कोइराला पक्षले समानुपातिक सूची तयार पार्दा आफूहरुलाई कम महत्त्व दिएको भन्दै पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन्। सत्ता गठबन्धनको बैठकसँगै सभापति देउवाले पार्टीभित्रको विवाद पनि मिलाएर मंसिर ४ गते निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार तय गर्नुपर्ने छ।