सभामुखमा नेम्वाङ , सापकोटा र तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

काठमाडौं : प्रतिनिधि सभाको रिक्त सभामुख पदको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक छलफललाई तीव्रता दिएको छ ।

 

बिज्ञापन

यस लगायत पछिल्लो परिस्थितिका विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । छलफलमा सभामुख कसलाई बनाउने भन्नेदेखि सभामुखका आकांक्षी रहेकाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ । दुई अध्यक्षबीच संसदीय दलको उपनेता रहेका सुवाषचन्द नेम्वाङलाई सभामुख बनाउने सहमती भएको स्रोतले बताएको छ ।

 

त्यसैगरी सभामुखका आकांक्षीका रुपमा रहेका अग्नि सापकोटा र उपसाभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी अध्यक्षद्वयले गरेका छन् । हिजो (मंगलबार) सरकारबाट समाजवादी बाहिरिएपछि रिक्त सहरी विकास मन्त्रालयको जिम्मेवारी सपकोटालाई र कानुन मन्त्रालयको जिम्मेवारी तुम्बाहाम्फेलाई दिने गरी छलफल अघि बढेको बताइन्छ ।

 

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा नेपाललाई सरकारमा भित्र्याउने तयारी गरिरहेको नेकपाले तत्कालै राजपा सरकारमा आइहाल्ने स्थिति नभएको हुँदा दुई नेतालाई मन्त्री बनाएर नेम्वाङलाई सभामुख बनाउने गरी छलफल अघि बढेको बताइन्छ ।

 

सभामुख पूर्वएमालेबाट की पूर्वमाओवादीबाट भन्ने छलफल चलिरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमति भएसँगै नेम्वाङले पाँचौ पटक देशको पाँचौ ठूलो पदको जिम्मेवारी पाउने निश्चिय हुन पुगेको छ ।

 

नेम्वाङले यसअघि २०६३ सालमा पुनस्थापित संसद, रुपान्तरिक संसद, २०६४ सालमा भएको पहिलो संविधानसभा र २०७० मा भएको दोस्रो संविधान सभामा सभामुखको जिम्मेवारी सम्हालि सकेका छन् ।