
एजेन्सी
बेइजिङ — चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । शुक्रबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको र ८ सय ३० जनामा यसको संक्रमण देखिएको जानकारी दिएको हो । हुबेईमा सबैभन्दा बढी २४ जनाको मृत्यु भएकाे छ । त्यस्तै हेबेई र हेइलोङजियाङमा एक-एक जनाको मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र सहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ। कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरियामा समेत पुगेको छ।




शुक्रबार जापान र दक्षिण कोरियाले अहिलेसम्म दुई–दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन्। त्यस्तै अमेरिकाको सियाटलमा एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि ४३ जनालाई निगरानीमा राखिएको छ।
सियाटलका ३० वर्षीय अमेरिकी नागरिक केही दिनअघि मात्रै वुहानबाट फर्किएका थिए। आइसोलेसन वार्डमा राखेर उनको उपचार भइरहेकाे छ। रोबोटसहितको मेडिकल टिम उनको उपचारमा खटिएको सीएनएनले जनाएको छ।
चीनले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि भन्दै बिहीबार तीन सहरमा आवतजावत बन्द गर्ने घोषणा गरेको थियो। वुहानसहित हुआङगाङ र इझौ सहरमा आवतजावत रोक्ने चीन सरकारले निर्णय गरेको छ। त्यस्तै चीन सरकारले नयाँ वर्षमा पनि ठूला कार्यक्रम नर्गन आदेश दिएको छ।
रोग नियन्त्रणका लागि १६ अर्ब
चीन सरकारले प्राणघातक कोरोना भाइरससँग लड्नका लागि एक अर्ब आरएमबी(झण्डै १६ अर्ब नेपाली रुपैयाँ) छुट्याएको छ। बिहीबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि १६ अर्ब छुट्याइएको जानकारी दिएको हो।