
इटालियन सिरी एमा युभेन्टस विजयी भएको छ । गएराति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टस विजयी भएको हो ।




जारी सिजनमा लगातार गोल गर्दै आएका रोनाल्डोले गएराति भएको खेलमा दुई गोल गरे । उनी पछिल्लो १५ वर्षमा युभेन्टसका लागि सिरी एमा लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन् ।

सन् २००५ मा डेविड ट्रजेगुएटले सिरी ए का ९ खेलमा लगातार गोल गरेका थिए । रोनाल्डोले पछिल्लो ६ खेलमा १० गोल गरेका छन् ।
यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी ३३ खेलमा ३३ गोल गरेका रोनाल्डोले सन् २०१८ मा युभेन्टस आएयता ७० खेलमा ५० गोलको आँकडा पनि पूरा गरेका छन् ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले फियोरेन्टिनालाई ३–० ले पराजित गरेको हो । खेलको ४० औं मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । ८० औं मिनेटमा पाएको पेनाल्टीमा उनले व्यक्तिगत दोस्रो गोल गरे ।
इन्जुरी समयको पहिलो मिनेटमा माथेज डी लिग्टले गोल गरेपछि युभेन्टस ३–० ले विजयी भयो । जितपछि शीर्ष स्थानको युभेन्टसको २२ खेलबाट ५४ अंक भएको छ । दोस्रो स्थानको इन्टर मिलानको समान खेलबाट ५१ अंक छ ।
आइतबार राति नै भएका अरु खेलमा लाजिओले एसपिएएललाई ५–१ तथा लीचेले तोरिनोलाई ४–० ले पराजित गरेका छन् । यस्तै एट्लान्टा र जेनोआले २–२ तथा एसी मिलान र हेल्स भेरोनाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।