कोरोना भाइरसः राष्ट्रपति सीद्वारा अस्पतालको निरीक्षण भ्रमण

चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरस संक्रमित बिरामीहरुको बेइजिङमा उपचार गरिरहेका चिकित्सक कर्मचारीसँग भेट गरेका छन् । प्रकोपका माझ उनले दुर्लभ खालको सार्वजनिक उपस्थिति जनाएका हुन् ।

 

बिज्ञापन

राष्ट्रपति सीले मुखमा मास्क लगाएर सामुदायिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गरेका थिए । कोरोनाभाइरसका कारण हालसम्म एक हजार १६ जनाको मृत्यु भइसकेको छ । यो सन् २००२÷३ मा भएको सार्सको महामारीका कारण देखापरेको स्वास्थ्य संकटका कारण मृत्यु हुनेभन्दा बढी संख्या हो ।

 

आफ्नो भ्रमणका क्रममा राष्ट्रपति सीले भाइरससँग जुध्नका लागि ‘थप निर्णायक उपायहरू’ चाल्न अपिल गरे ।अन्तर्राष्ट्रिय चिकित्सकहरूको विज्ञ टोली कोरोनाभाइरसको प्रकोपबारे अध्ययन गर्न चीन पुगेको छ।

 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सही प्रश्नको जवाफ खोज्नका लागि चिनियाँ विज्ञहरूलाई सो टोलीले सघाउने बताए ।

 

उनले थप विज्ञहरू जति सक्दो चाँडो आइपुग्ने पनि आशा व्यक्त गरे । तर संगठनका प्रमुखले चीनमा नपुगेका मानिसहरूमा पनि सो भाइरस सरेको विषयमा चिन्ता व्यक्त गरे ।

 

कोरोनाभाइरसको प्रकोप खराब हुँदै गएका बेला विगतका साताहरूमा राष्ट्रपति सीले यस्ता भ्रमणहरू गरेका थिएनन् ।

 

पहिलोपटक भाइरस देखापरेको वुहानमा भने उनले भ्रमण गर्न बाँकी नै छ । भाइरसबारे आफ्ना सहकर्मीलाई सचेत गराउने कोसिस गरेको तर पछि चुप लगाइएका डाक्टरको गत साता मृत्यु भएपछि त्यसले सामाजिक सञ्जालमा सरकारी निकायहरूप्रति तीव्र आक्रोस र शोक व्यक्त गरेका थिए ।