बालुवाटार काण्डमा कांग्रेसलाई प्रधानमन्त्रीले  ‘चिनियाँ कथा’ सुनाएर व्यंग्य

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेसले यसको विरोध गरिरहेको छ । सरकारले पूर्वाग्रही भएर विपक्षी नेतालाई निशाना बनाएको आरोप लगाउँदै कांग्रेसले संसदसमेत अवरुद्ध गरेको थियो ।

 

बिज्ञापन

तर, यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा चिनियाँ कथा सुनाएर व्यंग्य गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म एउटा चिनियाँ कथा सुनाउन चाहन्छु । एक युवाले ड्रागनलाई खुब मन पराउँदो रहेछ । उसलाई वास्तविक ड्रागन हेर्न खुब मन थियो । त्यसैले दिनरात उसले ड्रागन, ड्रागन भन्थ्यो । उसको तपस्या देखेर एक दिन ड्रागन उसका अगाडि आएछ । त्यो देखेर युवा फरार भएछ । अहिले केही साथीहरू सरकारलाई त्यसै गरिरहेका छन् ।’

 

उनले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गर्नु अघिसम्म छानविन गर भन्नेहरू मुद्दा दायर भएपछि किन यसो गरेको भन्दै विरोधमा उत्रिएको बताए । भ्रष्टाचार र अनियमिततामा मुछिएकालाई कारबाही गर्दा सरकारले कसैको अनुहार नहेर्ने उनले बताए ।