
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ।
गृहनगर दमकमा आइतबार आयोजित कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो आन्दोलनबाट प्राप्त उपलब्धि मेट्ने किसिमबाट षड्यन्त्र भइरहेको दाबी गर्दै भने, ‘जीवनको २० वर्ष त जेल र भूमिगत भएर व्यतित गरें। त्यसपछि १८ वर्ष लाग्यो गणतन्त्र ल्याउन। तर अहिलेसम्म पनि प्रतिगामीहरूले चलखेल भने रोकेका छैनन्। प्राप्त उपलब्धि खुम्च्याउने, कमजोर बनाउने खेल आन्तरिक रुपमा भइरहेको छ।’
सरकारका राम्रा कामबाट अत्तालिएका शक्तिहरूले विभिन्न बहानामा प्रहार गर्दै आइरहेको उनको भनाइ थियो। उनले भने, ‘कहिले बोल्न पाइँदैन भनेका छन्, कहिले के भनेका छन्। पहिले त मान्छे बचाउनु पर्यो, सरकारले मानिसलाई बचाउँछ, बाँच्ने प्रेरणा दिन्छ।’
प्रधानमन्त्री ओलीले सरकारले तीब्र हिसाबले विकाससँगै नागरिकको जीवनस्तर उकास्ने काम गरिरहेको दाबी गरे।
अब सडकमा बालबालिका देखिँदैनन्, लावारिस मानिस भेटिने छैनन्, कुकुरसँग मानिसका बच्चाले खाने दकुराका लागि लडाइँ गर्नुपर्ने छैन, सबैको जिम्मेवारी सरकारले लिएको छ,’ उनले भने, ‘खान पाइएन भने खबर गर्नुहोस्, सरकारले चामल किनेर राखेको छ।’ उनले थपे, ‘अब खरका छाना भएका घर विस्थापित हुँदै छन्, महिलालाई आत्मनिर्भर बनाइँदै छ, घर नभएकालाई घर बनाइँदै छ।
प्रधानमन्त्री ओलीले सरकारले अब दुई वर्षभित्र बाँकी सबै घरमा बिजुली पुर्याउने दाबी गरे। उनले नदी नियन्त्रण, शिक्षालाई व्यवसायीकरण, सिप विकास, महिलालाई आत्मनिर्भर बनाउने जस्ता कार्यक्रम सरकारले ल्याएको बताए।
ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकासको फेहरिस्त सुनाउँदै भने, ‘दमकमा भ्युटावर बन्दैछ, अब विश्वकै अग्लो बुद्धको मूर्ति पनि दमकमा नै बन्नेछ। सडक र पुल निर्माणले गति लिएको छ।’
दमकसँगै अन्य क्षेत्रको विकासमा समेत सरकारले उत्तिकै चासो राखेको उनले बताए। उनले भने, ‘मुलुककै विकास गति तीव्र रुपमा अघि बढेको छ। ८८ प्रतिशत जनता विद्युत् उपयोग गर्ने भएका छन्। मुलुक खुला दिशामुक्त भएको छ, बालिका महिनावारी हुँदा विद्यालय जान नसक्ने अवस्थाको अन्त्य भएको छ।’
कार्यक्रममा नेता सुवासचन्द्र नेम्बाडले मुलुकमा विकास निर्माणले गति लिएको दाबी गर्दै अबको तीन वर्ष सरकारले जनताको जीवनस्तर उठाउने गरी काम गर्ने बताए। उनले दक्षिणी इलामको विकासका लागि दमक–रवि सडक कोषेढुंगा साबित हुने बताए।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि जनताको जीवनस्तर उकास्न प्रदेश सरकार पनि लागिपरेको बताए।
।