
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको लगानी रहेको होटलको उदघाटन गरेका छन् । बाँकेको नेपालगन्जमा औपचारिक रूपमा सञ्चालनमा आएको सोल्टी वेस्टेन्ड प्रिमियर होटलको मंगलबार ओलीले उदघाटन गरेका हुन् ।
होटल सोल्टी ५० वर्ष पूरा गरेको अवसरमा नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर होटल सञ्चालनमा ल्याइएको थियो । सुरुमा चारतारे सुविधासहित सञ्चालनमा आएको होटलले स्तरोन्नति गरेपछि पाँचतारे होटलको प्रमाणपत्र पाएको थियो । होटलको एक वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहले उदघाटन गरिसकेका थिए ।
५० वर्ष पूरा गरिसकेको होटल सोल्टीले नेपालगन्जपछि पोखरामा सोल्टीकै ब्रान्डमा होटल सञ्चालन गर्नका लागि जग्गा खरिद गरिसकेको जनाएको छ ।
सोल्टी वेस्टेन्ड प्रिमियर होटल विश्वका १३५ मुलुकमा परियोजना रहेको ऊर्जा तथा पर्यावरण डिजाइनमा अगुवाइमा आधारित ग्रिन बिल्डिङको अवधारणमा बनेको छ । ८१ वटा रुम रहेको होटलमा लगानी ८० करोड रुपैयाँ लागेको होटलले जनाएको छ ।