
काठमाडौं । केपी ओली नेतृत्व सरकारका एक मन्त्रीले २५ करोड बार्गेनिङ गरेको विषय अहिले निकै चर्चामा छ । खानेपानी तथा सरसmाइमन्त्री बिना मगरले घुस मागेको भन्दै तत्कालीन सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । त्यसपछि उनलाई अर्कै मन्त्रालयमा सरुवा गरिएको थियो ।
मेलम्ची खानेपानी आयोजना निर्माणका लागि इटालियन ठेकेदार कम्पनी सीएमसीसँग मन्त्री मगरले २५ करोड रुपैयाँ माग गरेको र सो नदिएपछि नेपालबाट लखेटिएको त्यतिबेला समाचारमा आएका थिए । मन्त्रीले घुस रकम माग गरेको अडियो टेप आफूले सार्वजनिक गर्ने भन्दै अहिले पूर्वसचिव ठाकुरसमेत तानिएका छन् । यो विषयले उग्र रूप लिँदै गएको छ ।
खानेपानी मन्त्रालयमा सचिव रहँदा मन्त्रीसँग विवाद भएको र त्यसपछि उनलाई जगेडामा राखिएपछि उनले मन्त्री बिना मगरले २५ करोड रुपैयाँ घुम मागेको र त्यसको अडियो आफूसँग रहेको भन्दै सार्वजनिक गर्ने धम्की दिएका थिए ।
स्रोतका अनुसार मन्त्री विना मगरले मागेको अडियो टेपबारे प्रधानमन्त्री निवास बालुवाटारले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ । यदि त्यसमा कुनै कैफियत भेटिएमा तत्काल उनको मन्त्री पद जाने निश्चित छ । किनभने सेक्युरिटी प्रिन्टिङ प्रेसमा बिचौलिया विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडियो टेप लिक भएसँगै प्रधानमन्त्री केपी ओलीका अति विश्वासपात्र सञ्चारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुपरेको थियो ।
नेकपाभित्र अहिले फेरि अर्को घुसकाण्डले मन्त्रीको जागिर जाने भो भन्ने चर्चा सुरु भएको छ । नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको टकरावको चपेटामा खानेपानीमन्त्री मगर पर्ने सम्भावना पनि उत्तिकै छ । प्रचण्डले आफूलाई पदबाटै हटाउन भित्रभित्र खेल खेलेको प्रधानमन्त्री ओलीको बुझाइ छ ।
क्यानाडा नेपाल