बलात्कार मुद्दामा हलिउडका चर्चित निर्मातालाई २३ वर्ष जेल सजाय

न्यूयोर्कको एक अदालतले बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको जेल सजाय सुनाएको छ।

 

 

कुनै समयमा हलिउडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका अभियोगमा दोषी पाइएका थिए ।

 

अदालतको पछिल्लो फैसलालाई ‘मीटू’ भनिने विश्वव्यापी महिला आन्दोलनका सदस्यहरूले स्वागत गरेका छन् । ६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा उपस्थित भएका थिए ।

 

उमेर र चलचित्र उद्योगमा उनको योगदानलाई कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूले गरेका थिए । उनीहरूले पाँच वर्ष सजाय नै उनका लागि जन्मकैद सरह हुने तर्क गरेका थिए ।

 

तर अभियोजनकर्ताहरूले त्यसको विपक्षमा बहस गर्दै उनीविरुद्धको सजाय उनले अरूलाई गरेको शोषणको सही जबाफ भएको तर्क गरे । उनीहरूले वाइन्स्टिनले कुनै पश्चाताप नगरेको भन्दै खेद समेत प्रकट गरे ।