युभेन्टसका डिफेन्डरलाई पनि काेराेना सङ्क्रमण

काठमाण्डाै – इटालियन क्लब युभेन्टसका डिफेन्डर डानिली रुगानीलाई कोरोना भाइरस (काेराेना भाइरस) को सङ्क्रमण भएको पुष्टि भएको छ ।

 

 

पछिल्लो पटककाे परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखिएको छ । २५ वर्षे डानिलीसँग रहेका अरु व्यक्तिलाई पनि आइसोलेशनमा राखिएको छ ।

 

इटलीमा कोरोनाको त्रासका कारण आउँदाे ३ अप्रिलसम्म सबै खेलकुद गतिविधि बन्द गरिएको छ । यो सिजन युभेन्टसका लागि सात खेल खेलेका रुगानीले आइतबार भएको दर्शकबिनाकाे इन्टर मिलानसँगको खेलमा बेन्चमा थिए । त्याे खेलमा युभेन्टस दुई–शून्यले विजयी भएको थियो ।

 

कोरोनाको त्रासका कारण नै युरोपा लिगअन्तर्गत गेटाफेसँगको इन्टर मिलानको खेल स्थगित गरिएको छ ।

 

रुगानीलाई कोरोना सङ्क्रमण देखिएपछि युभेन्टसले सबै चाहिने प्रक्रिया अपनाएको जनाएको छ । युभेन्टसबाट रुगानीले चार पटक सिरी ए को उपाधि जितेका छन् । यसका साथै उनले इटली टिमबाट सात पटक खेलेका छन् ।