
काठमाडौं : कोविड १९ को संक्रमण फैलिएपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सबै आगन्तुकका लागि देशको सिमाना बन्द गरेको घोषणा गरेका छन्।
अष्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार पत्रकार सम्मेलनमा बताएका हुन्।
गैरअष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो। अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको घोषणामा उल्लेख छ।
प्रधानमन्त्री मरिसनले अष्ट्रेलियामा देखिएको संक्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिएका छन्। अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहीवार बिहानसम्म ५५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।