फोहोर फिर्ता नलगे क्यानडा विरुद्ध  युद्ध घोषणा गर्ने फिलिपिनी राष्ट्रपतिको चेतावनी


एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफ्नो देशको बन्दरगाहमा ६ वर्षदेखि छाडिएको क्यानडेली फोहोरका कन्टेरहरु तत्काल फिर्ता लग्नुपर्ने माग गरेका छन् । यसो नभएर आफू क्यानडाविरुद्ध ‘युद्ध घोषणा’ गर्न तयार रहेको दुतेर्तेले चेतावनी दिए ।

बिज्ञापन

सयभन्दा बढी संख्यामा रहेका कन्टेनरमा क्यानडाका घरायसी र विद्युतीय फोहोर छन् । ती कन्टेनर सन् २०१३ र २०१४ मा फिलिपिन्स ढुवानी गरिएका थिए । तर ती हालसम्म जस्ताको तस्तै स्थानीय बन्दरगाहमा छाडिएका छन् ।

फिलिपिन्सका अधिकारीले ती कन्टेनर पुनःचक्रिय फोहोर भनेर क्यानाडाले झुक्काएर पठाइएको बताएका छन् । विगत लामो कालदेखि फिलिपिन्सले ती कन्टेनरलाई फिर्ता लैजान क्यानडालाई दवाव दिइरहेको छ ।

मंगलबार राती स्थानीय अधिकारीहरुसँगको भेटवार्ताका क्रममा दुतेर्तेले भने, “म उनीहरु विरुद्ध युद्ध घोषणा गर्नेछु । क्यानडालाई तिम्रा फोहोर आउँदैछ । एक ठूलो उपहारको लागि तयार होउ । यदी चाहन्छौँ भने खादा पनि हुन्छ ।” उनको भनाई टेलिभिजनमा देखिइएको थियो ।

राष्ट्रपतिको आक्रोशपूर्ण अभिव्यक्तिपछि फिलिपिन्समा रहेको क्यानडा दूतावासले यस मामिलामा स्पष्टिकरण दिएको छ । मनिलास्थित फिलिपिन्स दूतावासले एक वत्तव्य जारी गर्दै भनेको छ, ‘हामीहरु यो मुद्दा सुल्झाउनको लागि फिलिपिन्स सरकारसँग सहकार्य गर्न एकदम प्रतिबद्ध छौँ ।’

यस विवादले दुई देशको सम्बन्धमा तनाव सिर्जना गरेको छ । सन् २०१६ मा फिलिपिन्सको एक अदालतले क्यानडाले छाडेको १३०० टन फोहोर फिर्ता लानुपर्ने फैसला सुनाएको थियो ।

विगतमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो समस्यालाई लिएर आफूले राष्ट्रपति दुतेर्तेसँग कुरा गरेको बताए थिए । सन् २०१७ मा ट्रुडोले क्यानडाको कानुनले फोहोर फिर्ता ल्याउन रोकेकाले ढिलाई भइरहेको बताएका थिए । पछि उनले सोही मामिलामा बोल्दै कानुनी अड्चन समाधान भएको र ‘सैद्धान्तिक रुपमा फोहोर फिर्ता गर्न सम्भव भएको’ जानकारी दिएका थिए ।