पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश :  कोरोनाबाट सिर्जित समस्याको मिलेर सामना गरौं

पूर्वराजा ज्ञानेन्द्र शाहले कसैले कसैलाई निषेध गर्ने सोचको आयू समाप्त भएको चेतावनीपूर्ण दिएका छन् ।

 

बिज्ञापन

ज्ञानेन्द्रले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवका नाममा नयाँ वर्ष २०७७ सालको शुभकामना दिँदै आफूलाई राजनीतिक स्पेस चाहिएको संकेत दिन खोजेका छन् ।

 

पटकपटक नेपाली जनताले चाहे शक्तिमा फर्कने चाहना व्यक्त गर्दै आएका शाहले आफ्नो अस्तित्व स्वीकार गर्न राज्य र राजनीतिक नेतृत्वलाई घुमाउरो शैलीमा आग्रह पनि गरेका छन् ।

 

उनले यथार्थता स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरण गर्न नसकिए इतिहासमा अर्को महाभुल हुने चेतावनी दिएका छन् । ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं’, पूर्वराजाले भनेका छन् ।

 

ज्ञानेन्द्रले आफूलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न आफूले हरसम्भव प्रयास गर्दै आएको दाबी गरेका छन् ।

 

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट देशका विभिन्न भू–भाग र विश्वका विभिन्न देशमा रहे सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त भएको बताउँदै उनले यस्तो स्थितिमा देश र आफूलाई सुरक्षित राख्न र बचाउान सबैलमा सजगता आवश्यक रहेकामा जोड दिएका छन् । ज्ञानेन्द्रले नेपाली जनता खुसी र सुखी रहुन भन्दै देशको शिर सधैं सगरमाथाजस्तै उच्च रहोस् भन्ने अटल चाहना रहेको र थियो भनेका छन् ।

 

ज्ञानेन्द्रले संकटका बेला नेपालीहरुले शान्त र सामूहिक रुपले राष्ट्रव्यापी रक्षाको पर्खालका रुपमा प्रस्तुत भएको भन्दै विद्यमान संकटबाट मुक्तिका लागि भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीको सामना गर्न सबैबीचको एकता अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

 

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट

नयाँ बर्ष २०७७ को उपलक्ष्यमा बक्सेको सन्देश

 

नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,

 

मानव सभ्यताको अनपेक्षीत चुनौतिहरुको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ, नयाँ बर्ष २०७७ को आगमन भएको छ । नयाँ बर्ष प्रारम्भको यस सन्दर्भमा हामी नेपाल भित्र र  बाहिर रहे बसेका सबै नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

 

कोरोना भाइरसको विश्वब्यापि महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त छन् । यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनु पर्दछ । नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र  रहनेछ ।

 

आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदित नै छ । मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरुले शान्त र सामूहिक रुपले राष्ट्रब्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् । तर विद्यमान संकटबाट  मुक्ति पाउन र भविश्यमा उत्पन्न हुने अस्वभाविक चूनौतिहरुको सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ । कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको  धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।

 

हाम्रा पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै रहेको छ ।  हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ  । यही जगमा उभि हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता हामीले लिनु पर्ने भइसकेको छ ।

 

मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ बर्षमा प्राप्त होस ।

 

श्री पशुपतिनाथले विश्वमानव जगतको कल्याण गरुन् ।

जय नेपाल

२०७७ साल बैशाख १ गते