ओलीको दोहोरो चरित्रमा फसेका चर्चित पात्र बामदेव गौतम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेकपाको सचिवालय बैठकमा अघि सारेपछि फेरी एक पटक गौतम चर्चाको पात्र बनेका छन् ।

 

बामदेव गौतमलाई प्रतिनिधि सभाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडाउने वा राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्ने गरि संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने भनेर नयाँ शस्त्र प्रहार गरेका छन् ।

 

तर, गौतम सांसद बन्ने विषयमा नयाँ–नयाँ आयाम पटक–पटक दुर्घटनामा पर्दै आएका छन् ।

गत संसदीय चुनावमा आफ्नै गृह जिल्ला बर्दियाबाट पराजित गौतमलाई संसद छिराउने विषया नेपाली राजनीतिमा सबैभन्दा धेरै पटक दोहोरीएको नाटक थियो । तर, त्यो नाटकमा नयाँ–नयाँ श्रृंखला आउने क्रम अझै रोकिएको छैन ।

 

बर्दियाबाट पराजित भएपछि गौतमले विपक्षीलाई नभइ पार्टी अध्यक्ष ओली र उनका समूहलाई दोष दिए । बर्दियाका पार्टी नेता श्याम ढकाललाई कारबाही गराउने प्रयास गरेपनि कारबाही गर्न ओलीले नमानेपछि गौतम आक्रोशित भएका थिए । त्यहि बीचमा डोल्पाबाट निर्वाचित सांसद घनबहादुर बुढालाई राजीनामा दिन लगाएर चुनाव लड्न गौतमले निकै कोशिस गरे । गौतमकै पहलमा पर्यटन राज्यमन्त्री भएका बुढाले राजीनामा दिने बचन दिएका थिए । तर, जनता सम्झाएर आउछु भन्दै डोल्पा गएका बुढा जनताले मान्दै मानेन भन्ने सन्देश बोकेर काठमाडौं फर्किएपछि गौतमको दातमा ढुंगा लाग्यो ।

 

पछि दैलेख, बाँके, प्युठान र नवलपरासीका सांसदलाई राजीनामा गर्न लगाएर चुनाव लड्नेसम्मको तयारी भयो । तर, उनीहरुले राजीनामा दिएनन् । बरु काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले बामदेव गौतमलाई आफ्नो क्षेत्रबाट चुनाव लड्न भन्दै सांसदबाट राजीनामा दिए । तर, प्रधानमन्त्री ओलीलाई समेत थाहा नदिइ राजीनामा आएको भन्दै ओली जङ्घिए ।

 

जननिर्वाचित सांसदलाई राजीनामा दिन लागएर संसद र्छिन खोजेको भन्दै गौतमको व्यापक आलोचना भयो ।

 

काठमाडौं ७ का पार्टी नेताहरुले नै उपनिर्वाचन भए जिताउन गाह्रो हुने सन्देश दिएपछि गौतम पछि हट्न बाध्य भए । पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि खाली भएको कास्की २ मा प्रधानमन्त्री ओलीले गौतमलाई टिकट दिने बचन दिए ।

 

तर, कास्की २ मा पनि चुनाव हार्ने सम्भावना प्रवल देखेपछि गौतम आफै पछि हटे ।

 

प्रतिनिधिसभाबाट संसद छिर्ने बाटो टाढा हुँदै गएपछि गौतमले राष्ट्रियसभाको बाटो खोज्न थाले । राष्ट्रियसभाको १८ सिटका लागि भएको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न स्वयम प्रधानमन्त्री ओलीले आग्रह गरे । राष्ट्रियसभाको सदस्यपनि प्रधानमन्त्री हुन पाउने गरि संविधान संशोधन गर्नुपर्ने सर्त राखेपछि ओलीले अस्वीकार गरे र त्यताको बाटोपनि गौतमका लागि बन्द भयो ।

 

पछि राष्ट्रपतिबाट मनोनित हुने एक सदस्यका रुपमा राष्ट्रियसभामा जान गौतम तयार भए । तर, ढिला भइसकेको थियो । त्यो एक मात्र सिटका लागि प्रधानमन्त्री ओलीले आफ्ना प्रिय पात्र अर्थमन्त्री युवराज खतिवडाको लागि तयार गरे ।

 

ओलीको इच्छा विपरित फागुन दोस्रो साताको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित हुने कोटामा सिफारिस गर्ने निर्णय गर्यो । तर, ओलीका अडानका सामु सचिवालय बैठकको निर्णय पनि फेल भयो ।

 

अहिले प्रधानमन्त्री आफैले गौतमलाई फेरी सांसद बनाएर प्रधानमन्त्री बनाउने प्रस्ताव व्यूताएका छन् । यसले प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गो बनाएको छ ।

 

गौतमलाई राष्ट्रियसभामा लैजान सम्भव छ । तर, अहिलेको संविधानले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्न दिँदैन । यसका लागि संविधान संशोधन गरि बाटो खुल्ला गर्नुपर्छ । संविधान संशोधन गर्न दुई तिहाइ बहुमत चाहिन्छ । नेकपासँग दुई तिहाइ नभएको अवस्था छ भने सामान्य बहुमतका लागि संघर्ष गरिरहेका ओलीको बलमा संविधान संशोधन लगभग असम्भव छ ।

 

त्यसैले नयाँ प्रस्तावले गौतमलाई फेरी तरंगित बनाएको छ । सम्भवत अहिलेसम्मको नजिरले स्वयम गौतमपनि ढुक्क हुन सकेका छैनन् । गौतमका लागि संसद यस्तो यात्रा भएको छ जहाँबाट गन्तव्य नजिकै देखिन्छ । तर, मोडैमोडले यात्रा बढाइएको छ । कतै बामदेव गौतम प्रधानमन्त्री बन्न नसक्ने अवस्था देखेकाले प्रधानमन्त्री ओलीले कतै गौतमको नाम अगाडी सारेक त होइन् ? वा ओली साच्चै बामदेवलाई प्रधानमन्त्रीको कुर्सि हस्तान्तरण गर्न चाहन्छन् । यो प्रस्ट भइसकेको छैन ।

 

अझ भन्ने हो भने अघिल्लो वर्षका मंसिरमा ओलीलेनै रोकेको बामदेव फेरी आलीकै प्रस्तावमा प्रधानमन्त्री बन्छन् भन्ने नेकपाका नेता तथा कार्यकर्ता नै विश्वास गर्नसक्ने पक्षमा छैनन् ।