सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपाभित्र देखिएको समस्याको समाधान सम्वादबाट टुंग्याउनु पर्ने बताएका छन् । बुधबार बेलुका भएको सचिवालय बैठक पछि छरपस्ट भएको छलफल घरभित्र प्रवेश गरेको उल्लेख गर्दै उनले त्यसलाई बाहिर निस्कन दिन नहुने बताएका छन् ।
सामाजिक संजाल ट्विटरमा आफ्नो धारणा राख्दै घरभित्र प्रवेश गरेको संवादलाई बजार नडुलाई समाधान निकाल्न तिर लाग्न उनले नेतृत्वलाई आग्रह गरेका छन् । ‘छरपस्ट भएर छिररिएको छलफल सचिवालय बैठकमार्फत घरभित्र प्रवेश गरेको छ । त्यहाँबाट बाहिर ननिकालौँ त्यतातिरै समाधान गरौँ । बजार बन्द छ, पसल पसल नडुलौँ । संवाद, संवाद र फेरि पनि संवाद’ उनले भनेका छन् ।
नेकपामा बढ्दै गरेको असन्तुष्टि समाधानका लागि बुधबार बेलुका सचिवालय बैठक बसेको हो । बैठकमा नेकपाभित्र देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण समाप्त पछि आफूले पदबाट राजीनामा दिने र प्रधानमन्त्रीका लागि नेता बामदेव गौतमलाई प्रस्ताव गरेका छन् । त्यस्तै, वरीयता क्रममा घटुवा भएपछि असन्तुष्ट भएका नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि राखेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा आन्तरिक छलफल र सरसल्लाह जारी रहेकाले वैशाख २० गते पुनः बस्ने गरी बैठक सकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । सरकारले पछिल्लो समयमा ल्याएका दुई अध्यादेशको विवादपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।