
सत्तारूढ नेकपाको १७ वैशाखको सचिवालय बैठकयता नयाँ विषय चर्चामा छ, वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने केपी ओलीको प्रस्ताव ।
८ वैशाखमा सरकारले ल्याएका दुई अध्यादेशका कारण अप्ठ्यारोमा परेका ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए ।
प्रस्ताव आएलगत्तै गौतमले अन्य शीर्ष नेतासँग छलफल तीव्र पारेका छन् । यति मात्र होइन, उनले कानुनविद् र अर्थशास्त्रीहरूसँग पनि छलफल गरेका छन् । शुक्रबार उनले केही अर्थशास्त्रीसँग परामर्श गरेका छन् । गौतमनिकट एक नेताका अनुसार देशको अर्थतन्त्र, कोरोनापछिको सम्भावित स्थितिबारे छलफल भएको थियो ।
ती नेताका अनुसार गौतमले कानुनविद्हरूसँग पनि छलफल गरेका छन् ।
२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा गौतम बर्दिया निर्वाचन क्षेत्र–२ मा पराजित भएका थिए ।
अहिले सांसद नभएकाले उनलाई प्रधानमन्त्री बनाउन नेकपाले राष्ट्रियसभामा ल्याएर संविधान संशोधन गर्ने वा उपनिर्वाचन गराएर प्रतिनिधिसभामा जिताउने भन्नेबारे टुंगो लगाएको छैन ।