
झापा : सबै नेपाली लकडाउनमा छन् । त्रास अझै ब्याप्त छ । पसल खुलेका छैनन् । रोजी रोटीको समस्या मजदुर देखि मध्यम वर्गमा समेत पुगेको छ । सबैलाई घरमा समय काट्न गाह्रो भएको सुनिन्छ तर पौरखी हातहरु भने आफ्नै धुनमा व्यस्त छन् । जग्गा जमिन नहुने देखि धनाड्य वर्गको भान्सामा स्वादिलो परिकार बनोस् , बसी बसी ताजा र अर्गानिक सब्जी खान पाउन भनेर मेहनत गर्ने हजारौं हात होलान् । यस्तै धेरै कृषकहरूको बीचमा गौरादह १ स्थित हेल्थ पोस्ट छेउ स्थायी बसोबास गर्दै आएकी धनकुमारी कट्वाल एउटा सफल कृषकको रूपमा परिचय पाउदै गरेको नाम हो।




कट्वालले अर्गानिक सब्जी खेती लगाउनु भएको कुरा वहाँको फेसबुक बाट थाहा भयो । हामी ओमकार टाइम्स मिडियामा कार्यरत पत्रकारहरु वहाँको सब्जीबारी हेर्न गयौं । १ नम्बर वडा हेल्थपोस्ट उत्तर तर्फको पर्खाल संगै रहेकोे वहाँको सानो घर अनि लटरम्म झुन्डिएका साग सब्जीहरु । सांच्चिकै मनमोहक । लोभलाग्दो गरि फलेका कांक्रा, करेला, लौका, भिन्डी, बोडी र मुला । कल्कलाउदो रायोको साग, लहरे बालीको मुनि ड्याङमा सलक्क परेको तोरीको साग, आलीहरुमा सहजाइएका माहुरीका १० वटा जति घारहरु अनि मगमग बास्ना छर्दै फुलेका धनियाको बोटमा नाची रहेका मौरीहरु । सबै जातका सब्जीहरु एउटै बारीमा । टाढै बाट देखिने गरि बिरुवाका हरेक पातमा किराहरु उतिनै सल्बलाउदै गरेका । किरा देख्ने बित्तिकै यो स्तम्भकार अत्तालिन बाध्य हुन्छ । किन कि स्तम्भकारलाई किराले बालीनाली सखाप पार्छ भन्ने मात्र थाहा छ ।

मैले धनकुमारी दिदी लाई तुरुन्तै सोधेँ ,’किराले सक्ने भएछ त बालीनाली?’ वहाँले मीठो हासो हास्दै भन्नू भयो, किराहरु लाई पनि त चाहिन्छ नी?’ ‘सबैले मिलेर खानुपर्छ, हामीले मात्र खाने होइन, पृथ्वीका सवै जीव जन्तु किरा फट्यांग्रालाई आहारा त चाहिन्छ नी?’
किरा देख्ने बित्तिकै कडा दवाइ हानेर मार्नुपर्छ भन्ने मेरो दिमागले वहाँको कुरालाई खासै पत्याउन सकेन । मैले वहाँ लाई फेरि भने, ‘दिदी किराको दवाइ हानी हाल्नुस् नत्र सर्वनास पार्छ ।
दिदिले हास्दै भन्नुभयो, ‘यो ड्रम भित्र छ किरामार्ने औषधि’ ड्रम भित्र निमपत्ती, बोझो, तितेपाती, गाइको मलमुत्र जस्ता बनस्पति हालेर अर्गानिक विषादी बनाउने निकै राम्रो सुत्र रहेछ वहाँ संग ।
यसलाई कपडछान गरेर ४/५ दिनको फरकमा बिरुवामा स्प्रे ट्यांकीको सहायताले हाल्दा बिरुवाको किरा पनि भाग्ने रहेछ र यसले भिटामिनको काम पनि गर्ने रहेछ ।
वहाँको सब्जी बारीमा रहेका सबै किरा दुस्मन होइन रहेछन् । मित्रुजिव पनि बसेका रहेछन् । जसले परागसेचनमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने रहेछ ।
वहाँले सब्जी खेती मात्र गर्नुभएको छैन । लोभलाग्दा खाले सलक्क कान भएका खसी बाख्रा देखि लिएर गाई, कुखुरा पालन समेत वहाँ कै घर वरपर देख्न पाइन्छ ।
विश्वभरी फैलिएको कोरोना त्रास नेपालमा पनि आउँछ भन्ने वहाँलाई सायद राम्रै थाहा भएर होला लकडाउन पुर्व नै वहाँले कुखुराको खोर खाली गराउन भ्याउनु भएछ ।
‘यति धेरै काम एक्लै गर्नु हुन्छ?’, मेरो अर्को प्रश्नको जवाफ वहाँले हास्दै दिनुभयो, ‘हामी आमाजु र बुहारी छौं, छोरी सम्झना पनि निकै सहयोग गर्छिन् ।’ बुहारी पनि सर्वगुण सम्पन्न, बिहान सबेरै उठ्ने । योग ध्यान गर्ने । चिया खाजा नस्ता बनाउने । हरेक काममा परिवारको एउटै सदस्य भएर खट्नु भएको साच्चिकै अनुकरणीय सोच । सबै खानेकुरा वारि मै फलेको छ । ३ बिघा खेती बाट संकलन भएको अनाज घर भरी छ । सुख र समृद्धिको अलौकिक नमुना ।
आलीहरुमा र सब्जीबारीको भित्र भित्र फुलेका अनौठा खाले झार, सयपत्री फुल, तितेपाती, बाह्र मासे फूल, चरी अमिलो, बोझो, रातो रंगमा फक्रीएका फूलहरुले कतिपय किरालाइ आकर्षण गर्दो रहेछ र कतिपय किरहरु खतराको संकेत मानेर टाढा भाग्दा रहेछन् ।
बारीमा फलेका साग सब्जीहरु सवै अर्गानिक, अर्गानिक सब्जीको महत्व बुझ्नेहरु नियमित ग्राहक बनेर घरमै पुगेको रमाइलो दृश्य कैद समेत गर्न पाइयो । वहाँलाई बधाइ दिने पनि उतिनै । अर्गानिक साग सब्जीको प्रसम्सा गर्ने पनि उतिनै ।
हाम्रो करिब १ घण्टाको बसाइमा खेती बाली सम्बन्धि प्रसस्तै खुराकहरु बटुल्ने मौका मिल्यो । वहाँ हामीलाई सम्झाउदै हुनुहुन्थ्यो, ‘साग सब्जी आफैं लगाउनुपर्छ, ४ बोट रोपे प्रशस्त खान पाइन्छ, बिषालु साग सब्जी खानु हुदैन’
बिहान वेलुकाको सब्जी किनेर खाने बानी परेका हामी सुबिधा भोगीको लागि गहिरो सन्देश दिने दिदी धनकुमारी कट्वाललाइ अर्गानिक खेतीमा अझ अगाडि बढ्ने सफलता मिलोस् ।
ओमकार टाइम्स परिवारको तर्फ बाट हार्दिक शुभकामना ।