
नेपाली सेनाले चीनसंग किनेको स्वास्थ्य सामग्री सडकमार्गबाट खासा आइपुगेको छ । उक्त सामग्री खाशाबाट आजै तातोपानी नाका हुँदै नेपाल भित्रिंदैछ ।नेपाली सेनाका १० कन्टेनर सामान खासा आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।
उनले उक्त सामान आजै नेपाल भित्रने र भोलिसम्म काठमाडौं आइपुग्ने प्रमुख खत्रीले बताए । खासा बजार तातोपानी नाकाबाट १० किलोमिटर माथि पर्छ ।
सेनाले करिब ३ सय ४३ टन स्वास्थ्य सामग्री ल्याउन लागेको हो । अति आवश्यक स्वास्थ्य सामग्री २ वटा विमान चार्टर गरेर ल्याउने सेनाको तयारी भएतापनि सडक मार्गबाट ती सामग्री छिट्टो आइपुगेका हुन् ।
विमानबाट ल्याउने सामग्री गाोन्जाउ विमानस्थलमा भन्सार जाँच भइसकेपनि चिनियाँ पक्षले विमान लिएर आउनु नभनेका कारण अड्किएको बताइएको छ ।
सरकारको निर्देशन अनुसार सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो । त्यसको लागि २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।
सेनाले मन्त्रिपरिषदको चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट जीटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउन वैशाख ७ मा सम्झौता गरेको थियो ।